भारतबाट करिब ६ सय फर्किए दाङ, क्वारेन्टिनमा स्थानीयकाे विराेध

जेठ ०, २०७७

दाङ–भारतबाट दाङ भित्रिनेको संख्या बढेको छ । एकै दिन बिहीबार तीन सय ५० जना व्यक्ति क्वारेन्टाइनमा बसेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

बिहीबार बेलुका सम्म क्वारेन्टाइनमा पाँच सय ७९ जना छन् । जस मध्य ६२ जना महिला र पाँच सय १७ जना पुरुष छन् । क्वारेन्टाइनमा बसेका मध्य ९० प्रतिशत मानिस भारतबाट फर्किएकाहरु रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापन सहायक विनायक पौडेलले जानकारी दिए ।

क्वारेन्टाइनमा बस्ने मानिसको संख्या बढ्न थालेपछि क्वारेन्टाइन थप गर्ने तयारी सुरु भएको छ । दाङमा ५७ ओटा क्वारेन्टाइनमा दुई हजार एक बेड क्षमता छ ।

तीन हजार बेड पुर्याउने योजनाका साथ अहिले काम भैरहेको हो । अहिलेसम्म क्वारेन्टाइनमा एक सय ७४ महिला र ११ सय ७ पुरुष बसेका छन् । ७ सय दुई जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् ।

क्वारेन्टाइन राख्न नदिने भन्दै विरोध

भारतबाट मानिसहरु आउने क्रम बढेपछि क्वारेन्टाइनको संख्या थप गर्न दबाब वढेपछि स्थानीय पालिकाले सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन थालेका छन् । तर, कतिपय ठाउँमा स्थानीयबाट विरोध सुरु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ को माध्यमिक विद्यालय रझेनामा क्वारेन्टाइन बनाउन नदिने भन्दै स्थानीय सडकमै उत्रिएका छन् । वस्तीको बीचमा क्वारेन्टाइन बनाउन नदिने अडान उनीहरुले लिएका छन् ।

भारतबाट आएका मानिसलाई विद्यालयमा राखिएको छ ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आइसोलेसन र क्वारेन्टाइन आफ्नो नजिकमा सकेसम्म सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

‘आज जुन ठाउँका बासिन्दाहरुले आफ्नो ठाउँमा आइसोलेसन र क्वारेन्टाइन राख्नु हुँदैन भनेर विरोध गरिरहनु भएको छ त्यही ठाउँमा संक्रमण देखिएको अवस्थामा आइसोलेसन र क्वारेन्टाइन त चाहिएला नै’पोख्रेलले भने–‘त्यसैले आइसोलेसन र क्वारेन्टाइन आफ्नो नजिकमा सकेसम्म सुरक्षित र व्यवस्थित बनाउन सहयोग गरौँ । पछि आफैलाई पनि काम लाग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस