काेराेना संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकमा कहाँबाट सर्‍यो भाइरस ?

जेठ ०८, २०७७

काठमाडौं। कोरोना संक्रमणबाट ज्यान गुमाएका तेस्रो व्यक्तिमा संक्रमणको स्रोत खुल्ने सकेको छैन्। गुल्मीको मदाने गाउँपालिकास्थित घरबाट बाहिर कतै नगएका उनमा कोबाट कोरोना संक्रमण भयो भन्ने पत्ता लाग्न सकेको छैन।

स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले अहिलेसम्म संक्रमणको स्रोत पत्ता लाग्न नसकेको बताए।

‘कन्ट्याक ट्रेसिङ’ गरिहेर्दा उनी ४० जनाको सम्पर्कमा पुगेको देखिएको र ती सबैको परीक्षणको रिपोर्ट आएपछि स्रोतबारे केही जानकारी हुनसक्ने शर्माले बताए।

“गुल्मीमा उहाँको सम्पर्कमा आएका ४० जनाको स्वाब पीसीआर परीक्षणका लागि भैरवहास्थित प्रयोगशालामा पठाएका छौं। भोलि १२ बजेभित्र रिपोर्ट आउँछ। उनीहरुमध्ये कोही पोजिटिभ देखियो भने त्यहाँबाट सरेको अनुमान गर्न सकिनेछ,” डा. शर्माले भने।

४० जनामध्ये कोहीमा पनि कोरोना पोजिटिभ नदेखिएमा ती शिक्षकलाई उपचारका लागि बुटवल पुर्‍याउने क्रममा अर्घाखाँचीमा वा बुटवलमै सरेको मान्न सकिने उनको भनाइ छ।

मदाने गाउँपालिका-६ स्थित घरमै बसेका ती शिक्षकले ज्वरो आएपछि स्थानीय मेडिकलबाट औषधि लगेर खाइरहेका थिए। चार/पाँच दिनमा पनि निको नभएपछि उनलाई १ जेठमा अर्घाखाँचीको छायाँ पोलिक्लिनकमा लगिएका थियो। त्यहाँ परीक्षणको क्रममा जण्डिस देखिएपछि थप उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल लगियो।

बुटवलबाट सन्धिखर्क गएको एम्बुलेन्समा राखेर उनलाई क्रिमसन अस्पताल पुर्‍याइएको थियो। त्यहाँ आईसीयूमा राखेर उपचार थालेपछि कोभिड-१९ सँग मिल्ने लक्षण देखिएको भन्दै २ जेठमा पीसीआर परीक्षणका लागि स्वाब प्रयोगशाला पठायो।

५ जेठमा रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो। त्यसपछि जनस्वास्थ्य कार्यालयले गुल्मीको मदानेदेखि रुपन्देहीको क्रिमसन अस्पतालसम्म उनको सम्पर्कमा पुगेका व्यक्तिको पहिचान गर्‍यो र ४० जनाको पीसीआर परीक्षण गर्ने प्रक्रिया थालियो।

त्यसमध्ये अर्घाखाँचीको छायाँ पोलिक्लिनकका १० जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी ३० जनाको भोलि रिपोर्ट आउने उनको भनाइ छ।

स्कूल विदाका कारण घरबाट कहिं नगएका उनमा कसरी कोरोना संक्रमण देखियो भन्ने अहिलेसम्म पत्ता नलाग्दा स्वास्थ्यकर्मीसमेत अचम्ममा परेका छन्।

मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले उनी बाहिर कतै पनि नगएको। बाहिरबाट आएका अन्य कोहीको पनि सम्पर्कमा नपुगेको बताए।

“उहाँ कतै जानुभएको थिएन र बाहिरबाट आएको मानिससँग भेटघाट पनि गर्नुभएको थिएन। यहाँबाट हिँड्दा सामान्य बिरामी हुनुहुन्थ्यो, उहाँमा कोरोनाको संक्रमण बुटवलतिरै सरेको हुनसक्छ,” गाउँपालिका अध्यक्ष केसीले भने।

कोरोना संक्रमणबाट शिक्षकको निधन भएपछि यतिबेला पूरै गाउँ त्राससँगै शोकमग्न बनेको छ। उनको निवास वरिपरी ‘सिल’ गरिएको छ र उनको सम्पर्कमा रहेका परिवारसहितका व्यक्तिमा कोरोना परीक्षण गरिँदै छ।

यता संघीय स्वास्थ्य मन्त्रालयले पनि उनको कन्ट्याक ट्रेसिङको काम भइरहेको जनाएको छ। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले ट्रेसिङको काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस