गम्भिर, जिम्मेवार र सहयोगी बनौ

जेठ ०७, २०७७

क्वारेन्टाइन र आइसोलेसन केन्द्र बस्तीवाट टाढा र नजिक भन्ने विषयमा स्थानीय स्तरमा हुने बहसले व्यवस्थापनमा चुनौती खडा भइरहेको छ । पर्याप्त र व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको अभावमा संक्रमण फैलने खतरा हुन्छ । हामी कहाँ भएका सिमित पूर्वाधारहरुको अधिकतम् प्रयोग गरेर नै यस महामारी विरुद्ध जुध्नु पर्ने वाध्यता छ । विभिन्न वहानामा त्यसलाई प्रयोग गर्नवाट रोक्न खोज्ने हो भने महामारीलाई रोक्न सकिदैन ।

पूर्वाधारले सम्पन्न भएका मुलुकमा समेत सामान्य अवस्थाका संक्रमितहरुको उपचार डाक्टरको परामर्शमा घरमै हुने गरेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्क वा उस्ले प्रयोग गरेका सामग्री बाहेकबाट कोरोना भाईरस सरेको तथ्य छैन । एउटै घरमा पनि सामाजिक दुरी र अलग अलग सामानको प्रयोग गरी विरामीको स्याहारगरी आफु सुरक्षित हुन सकिन्छ ।

तर हामी अझै आइसोलेसन केन्द्र र अस्पतालमा विरामी राखेर उपचारगर्ने योजनामा छौ । महामारीको अवस्थामा त घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।


तपाई हामीसँग हिडिरहेको व्यक्ति पनि संक्रमणमा परेको हुनसक्छ त्यसैले सामाजिक दुरी अनिवार्य रुपमा कायम गरौ । भिडभाडमा नजाउ । बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौ । सानो कमजोरीले भोली तपाईहामी आफै पनि उपचारमा जानुपर्ने हुन्छ ।


तसर्थ क्वारेन्टाइन र आइसोलेसन केन्द्र यहाँ हुदैन त्यहाँ हुदैन भन्ने बहसमा भन्दा कसरी व्यवस्थित रुपमा संचालन गर्ने भन्न कुरामा छलफल गरौ । व्यवस्थित गर्न रचनात्मक सुझाव सम्वन्धित निकायलाई उपलब्ध गराउँ । अनावश्यक बहस,भ्रम र त्रासले कोरोना विरुद्धको हाम्रो लडाई कमजोर बन्न सक्छ ।


क्वारेन्टाइन र आइसोलेसन केन्द्र जति धेरै तयार गर्न र व्यवस्थित गर्न सकिन्छ त्यति नै कोरोना भाइरसको संक्रमणवाट समुदायलाई जोगाउन सकिन्छ र विरामीलाई छिटोभन्दा छिटो निको बनाउन सकिन्छ । गंभीर, जिम्मेवार र सहयोगी बनौ ।

प्रतिक्रिया दिनुहोस