राहत वितरणका लागि किनेको चामल कुहिएको, बिक्रेताको गोदाम शिल

जेठ ०६, २०७७

दाङ– राहत वितरण गर्न गाउँ लगिएको चामल कुहिएको पाइएपछि चामल विक्री गर्ने सप्लायर्सको गोदाम शिल गरिएको छ।

राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टीमा रहेको भयरथान सामुदायिक वन उपभोक्ता समूहले समूहभित्र रहेका विपन्न उपभोक्तालाई राहत वितरण गर्न लमहीमा रहेको आरके सप्लायर्सबाट चामल खरिद गरेको थियो।

चामल खरिद गर्दा राम्रो चामल देखाएर पछि पठाउँदा कुहिएको चामल पठाएको पाइएपछि उपभोक्ताले चामल फिर्ता गरेका छन्।

‘लकडाउनले गर्दा गाउँमा खाने खर्च सकियो भनेर उपभोक्ताले भन्नुभयो। हामीले समूहको कोषको रकमबाट चामल खरिद गर्ने निर्णय गर्‍यौँ। चामल किनेर लगियो। बाँडियो पनि। बोरा खोल्दा किरा परेको, कालो, डल्लो परेको चामल भेटियो’, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चेतबहादुर ओलीले भने, ‘कुहिएको चामल भेटिएपछि सप्लायर्सलाई खबर गर्‍यौँ। फेरि फिर्ता गरेर राम्रो चामल लगेका छौँ।’

 

सामुदायिक वनले एक सय ६६ बोरा चामल खरिद गरेको थियो। जसमध्ये ३२ बोरा चामल राम्रो भएपनि १३४ बोरा चामल खान नमिल्ने भेटिएपछि फिर्ता गरिएको हो। राहत वितरण गर्न विक्री गरिएको चामल कुहिएको थाहा पाएपछि प्रहरी र सरोकारवाला निकायले चामल राखिएको गोदाममा छापा मारेका छन्।

कुहिएको चामल भेटिएको गोदामलाई शिल गरिएको र खाद्य प्रविध तथा गुण नियन्त्रण विभागबाट खटिएको टोलीले चामलको गुणस्तर परिक्षण गरेर प्रकृयागत रुपमा अघि बढ्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी बताए।

वडा प्रहरी कार्यालय लमहीले गोदममा भेटिएको चामलको मुचुल्का उठाएर छानविन सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस