दाङमा एक सय बढी सालको अवैध चिरान काठ बरामद

जेठ ०४, २०७७

दाङ, जेठ ४ । डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यू फिट भन्दा बढी चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।

 


लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ति टोलीले बरामद गरेको हो । भौगोलिक दृष्टीले घोराही उपमहानगरपालिकाको बिकट क्षेत्रका रुपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी. ले जानकारी दिए ।

‟काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन ”— घटनास्थलमा रहेका सहायक वन अधिकृत चौधरीले भने– ‟लकडाउनको मौका छोपि बिक्रि गर्ने उद्देश्यले काटिएको हुन सक्छ ।” गस्ति टोली आउदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेको कार्यालयले जनाएको छ ।

दुई वटा घोरलको छाला बरामद

सालको काठसगै वन गस्ति टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ । दुई वटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बराले जानकारी दिए । दुवै घटनाबारे छानविन भइरहेको र दोषिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलगअलग समूह बनाई वनगस्तिलाई तिव्र पारेको जनाएको छ । लकडाउन अवधीको अहिलेसम्म बिभिन्न दर्जन बढी घटनामा दुई दर्जन बढीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस