बाँकेका कोरोना संक्रमित ८ जनालाई बेलझुण्डी अस्पतालमा ल्याइदै

जेठ ०२, २०७७

बाँके, जेष्ठ २। आज मात्र बाँकेको नरैनापुर गाउँपालिकामा भेटिएका नयाँ ८ जना कोरोना संक्रमितहरुलाई प्रदेश सरकारले स्थापना गरेको दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा ल्याइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले त्यसका लागि स्वास्थ्यकर्मीसहित एम्बुलेन्स नरैनापुर पुगेको जानकारी दिनुभयो । उहाँले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गरेर थप स्वाब लिने गरी जनशक्ति पनि खटाइसकिएको बताए ।

आज विहान मात्र नरैनापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु मध्ये २ जना बैशाख २१ गते भारतबाट नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए भने ६ जना बैशाख ३१ गते आएर क्वारेन्टाइनमा बसेका हुन् ।

नेपाल राष्ट्रिय प्रावि खोदवाँ क्वारेन्टाइनका २ जना र दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइनका ६ जनामा कोरोना देखिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले अब तत्काल क्वारेन्टाइनमा बसेका सबै र उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब लिन जरुरी रहेको वताए।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बैशाख ३१ गते क्वारेन्टाइनबाट स्वाब लिइएका ४५ जना मध्ये ८ जना संक्रमित भेटिएको बताए । नरैनापुरका विभिन्न क्वारेन्टाइनमा अहिले ५ सय बढी छन् । त्यस क्षेत्रमा अझै पनि भारतबाट आउने क्रम अझैं जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस