प्रदेश ५ मा काेभिड विशेष कृषि कार्यक्रम, उत्पादन अनुसार अनुदान

जेठ ०१, २०७७

तुलसीपुर, बैशाख ३१ ।  प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यक्रमको लागि ५१ करोड १४ लाख रुपैया बजेट समेत छुट्याउने निर्णय गरेको हो।

कोभिड विशेष कृषि कार्यक्रममा कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख, गुल्मी, प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालनका लागि १ करोड २० लाख छुट्याइएको छ। व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम पनि संचालन गरिने भएको छ।

दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम जिल्लामा सञ्चालन हुने उक्त कार्यक्रमका लागि १४ करोड रुपैयाँ बजेट छुट्याइएको छ भने ७ हजार किसान लाभान्वित हुने अपेक्षा गरिएको छ।

त्यसैगरी कोरोनाका कारण विदेशबाट फर्किएका र व्यवसायिक खेती गर्न चाहने किसानको लागि व्यवसायिक कृषि उन्मुख प्रोत्साहन कार्यक्रम पनि संचालन गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रमका लागि २१ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेशका १ सय ९ वटै पालिकामा व्यवसायिक खेतीका लागि मल विषादी, साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने निर्णय गरेको छ। १० हजार ९ सय किसान लाभान्वित हुने उक्त कार्यक्रमका लागि प्रति किसानलाई २० हजारका दरले सहयोग गरिने छ ।

साना किसानलाई लक्षित गर्दै ब्रोइलर कुखुरापालन कार्यक्रमका लागि ७ करोड बजेट छुट्याएको छ भने दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया छुट्याएको छ।

किसानहरुलाई दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने सरकारले निर्णय गरेको छ।

त्यस्तै बिउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ। यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

बैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने, बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने, बुटवलमा २ सय बेड थप्ने, भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा बिरामी पठाउने निर्णय गरेको छ ।

बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने, त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए  ।

त्यस्तै गत वैशाख १८ गते रोल्पामा भएको वम विष्फोटमा परि मृत्यु भएका चारजना बालबालिकाका परिवारलाई १/१ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ। त्यस्तै बैठकले आगामी जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस