कोरोना संक्रमित बढे, त्रास होइन सुरक्षा

जेठ ०१, २०७७

प्रदेश ५ कोरोना संक्रमणको ‘इपिसेन्टर’ वन्दै गएको छ । दुई साता यता कोरोना संक्रमितको ग्राफ शुन्यबाट निरन्तर उकालो लागिरहेको छ । कोरोना संक्रमितको संख्या वढेसँगै आम जनतामा संक्रमणको त्रासको मात्रा पनि वढ्दै गएको देखिन्छ । सामान्य ढँगले हेर्दा यो ठीकै पनि हो । तर कोरोना संक्रमितको पहिचान हुनु हाम्रा लागि राम्रो कुरा हो । जति छिटो संक्रमितको पहिचान गर्न सकिन्छ त्यति नै अरुलाई संक्रमण हुनबाट जोगाउँन सकिन्छ ।

पहिचान भएसँगै भिडमा रहेको संक्रमित आइसोलेसनमा आइपुग्छ । यसकारणले संक्रमितको ग्राफ जति उकालो लाग्दै जान्छ हामी त्यति नै सुरक्षित हुन्छौ भन्ने ढँगबाट यसलाई वुझ्न पनि सकिन्छ ।

सबै प्रदेशहरुमा निरन्तर पोजेटिभ रिपोर्ट आउँदा पनि हाम्रो प्रदेशमा किन आएन त ? हामी साच्चै सुरक्षित नै छौ त भन्ने लागेर केही ठाउँमा हामीले पिसिआर टेस्ट गर्यौ । जसको फलस्वरुप यो नतिजा आएको हो । यदि हामीले समयमै उचित कदम नचालेको भए अवस्था निकै भयावह आउने रहेछ । यस क्रमलाई हामीले निरन्तरता दिइरहेका छौ । अत्यन्त जोखिम भएको ठाउँमा तत्काल पिसिआर टेस्टका लागि अहिले हामीसँग साधन र स्रोतको पनि अभाव छैन ।

विश्व स्वास्थ्य संगठनको मर्म विपरित भारतले चेकजाँच नै नगरेर जथाभावि नेपालीहरुलाई यता पठाएको छ ।

भारतमा संक्रमितको संख्या वढ्सँगै हामीले सीमा नाकाहरुका विशेष कडाई गर्यौ । तर नाका वन्द हुँदा विभिन्न ठाउँबाट छलेर आउने क्रम वढेर गयो । यसरी छलेर आउनेहरुको चेकजाँच समेत नहुँने र उनीहरुको विभिन्न ठाउँमा वस्दै आउने भएकाले झनै संक्रमणको सम्भावना उकालो लागिरहेको छ । विश्व स्वास्थ्य संगठनको मर्म विपरित भारतले चेकजाँच नै नगरेर जथाभावि नेपालीहरुलाई यता पठाएको छ । भारतले गरेको लापरबाहीको शिकार हामी भएका छौ ।

जहाँ वस्ने भएपनि नेपालीहरु हाम्रा दाजुभाइ नै हुन् । नेपाल आउन पाउनु उनीहरुको अधिकार हो । पाँच नम्वर प्रदेशको सवालमा हामी भारतले सम्पूर्ण चेकजाँच गरेर हाम्रा नागरिकहरु लैजाने भन्छ भने पनि तयार छौं । स्थानीय तहहरुले त्यसका लागि आफुलाई तयार राख्नुपर्दछ । करिब ६ हजार मान्छेहरु दाङ्ग आउने सम्भावना रहेको छ ।

अन्य आवश्यक सहयोगका लागि प्रदेश सरकार छदैछ । स्थिति जस्तोसुकै भयावह नै किन नहोस् हामी हरेक हिसाबले तयारीको अवस्थामा रहनुपर्दछ । भारतबाट आउने संख्या धेरै छ तर पनि हामीलाई तयारी गर्नै पर्ने वाध्यता रहेको छ ।

अहिलेको अवस्था हेर्दा लकडाउन लामो समयसम्म जाने सम्भावना देखिएको छ ।

अहिले धेरैभन्दा धेरै नागरिकको पिसिआर टेस्ट गर्नुपर्दछ भनेर कुरा उठिरहेको छ । यो राम्रो कुरा पनि हो । तर जापान, अमेरिका र चीनजस्ता देशले गर्न नसकेको कुरा हामीले गर्न सक्ने अवस्था छैन । एकजनाको सबै चेकजाँच गर्दासम्मका लागि ४० हजारसम्म खर्च गर्नुपर्ने देखिन्छ । यो निकै महंगो पनि छ । तर हामीले शंकास्पद हुने वित्तिकै अनिवार्य पिसिआर जाँच गर्नै पर्दछ । भारतबाट आउने सबैको अनिवार्य रुपमा पिसिआर जाँच गर्नै पर्दछ । अत्यावश्यक पिसिआर जाँच गर्नका लागि प्रदेश सरकार सक्षम छ ।

स्थानीय तहहहरुले यसमा समन्वय गर्नुपर्ने छ । अहिलेको अवस्था हेर्दा लकडाउन लामो समयसम्म जाने सम्भावना देखिएको छ । अव राहत वितरण गरेर जनताको भोक मेटाउन सकिदैन । उनीहरुलाई श्रमसँग जोड्नै पर्दछ । जेठ, असार र साउन महिना भनेको धेरै काम पाइने समय हो । कृषिका हिसाबले पनि यो उन्नत मानिन्छ । खास गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले काम गर्नुपर्ने देखिन्छ ।

अशक्त, वृद्धवृद्धा, अपांग आदिलाई बाहेक अन्य सबैलाई कामसँग जोडेर मात्रै खाद्यान्न उपलब्ध गराउनुपर्दछ । राहत दिएर जनतालाई आश्रित वनाउने काम राम्रो होइन । राज्यले दिने भनेको कामको अवसर सृजना गर्ने हो । स्थानीय तहहरुले पनि अवसर सृजना गरेर जनताको भोक मेट्नमा ध्यान दिनुपर्दछ ।

अस्पतालमा विरामी लैजानु भनेको समाजलाई सुरक्षित राख्नु हो । समाजमा रहेको मानिस उपचारका लागि अस्पतालमा सुरक्षित अवस्थामा रहेको हुन्छ ।

कोरोना संक्रमणको सुरुवात मै हामीले कोरोना विशेष अस्पताल प्रदेशका ३ ठाउँ बुटवल, बेलझुण्डी र नेपालगञ्जमा सञ्चालन गर्यौ । यसले कोरोना संक्रमणको आशंका भएका र संक्रमितहरुलाई उपचार गर्नका लागि निकै सजिलो भएको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितलाई ल्याउन लागेको भनेर विभिन्न विरोधका आवाज उठेको मैले सुने । शान्तिनगर गाउँपालिकाको अध्यक्षले त विज्ञप्ती नै जारी गर्ने खालको काम गर्नु भयो । अहिले उहाँलाई गल्ति महसुस भएको छ होला ।

अस्पताल बनाईसकेपछि बिरामी ल्याउँन पाइदैन भन्ने सोच राम्रो होइन । यहाँ जे भएको छ त्यो राम्रो भएन । जनताको भावना नल्याउने हुन सक्छ तर अस्पताल भएपछि बिरामी आफै आइहाल्छन् । विरामी ल्याउने सवालमा यहाँ जस्तो खाले विरोध गरियो यसले सकारात्मक सन्देश प्रवाह गरेको छैन । कुनै पनि कुरालाई गहिरो ढँगले नवुझेर विरोधका लागि मात्रै विरोध गरियो भने त्यसले सम्वन्धित ठाउँलाई नै घाटा हुन्छ । बर्दियाको विरामीलाई दाङ्गमा ल्याउँदा के आपत्ति हुन्छ र ? अस्पतालमा विरामी लैजानु भनेको समाजलाई सुरक्षित राख्नु हो । समाजमा रहेको मानिस उपचारका लागि अस्पतालमा सुरक्षित अवस्थामा रहेको हुन्छ ।

कोरोना युवाका लागि अवसर हो भन्ने पनि मलाई लाग्छ । पहिलो कुरा नेपालमै केही गर्नु आवश्यक छ भन्ने सोच अहिले हरेक युवामा देखिन थालेको छ । अर्को कुरा युवालाई कोरोना भयो भने उसले समयमै त्यसलाई पचाएर कोरोनासँग लड्ने क्षमताको विकास गर्दछ । कोरोना संक्रमण भएर निको भएको युवा समाजका लागि राम्रो स्वयम्सेवक भएर काम गर्न सक्दछ । कोरोनासँग अझै २ वर्षसम्म हामीले लड्नुपर्ने अवस्था आउन सक्छ । तथापि कोरोना संक्रमण नहुनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।

 

यसका लागि हामीले कृषि क्षेत्रलाई विशेष तरिकाले सम्बोधन गर्नुपर्दछ । सामाजिक दुरी कायम गरेर कृषि कार्यहरु निरन्तर सञ्चालन गर्नु आवश्यक छ । यस प्रदेशमा जग्गा बाँझो नराख्नका लागि स्थानीय तहहरुले विशेष भुमिका खेल्नुपर्ने देखिन्छ । वाह्य देशहरुले निर्यात रोक्न सक्ने सम्भावना भएकाले पनि अब हामीले उत्पादनमा जोड दिनु आवश्यक देखिन्छ । स्थानीय तहहरुले खाली जमिन देख्ने वित्तिकै सम्झौता गरेर श्रम बैकमा रहेकालाई काममा लगाउनुपर्दछ ।

कोरोन संक्रमण नियन्त्रण र व्यवस्थापनमा जनप्रतिनिधि अगाडि उभिनु पर्दछ । हामीले समाजलाई डो¥याउने हो । जनप्रतिनिधिका लागि जनताको सेवा गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।

प्रस्तुतीः वसन्त आचार्य

प्रतिक्रिया दिनुहोस