नेपालमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३१ :  नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

संक्रमितमध्ये रुपन्देहीका १२ जना, कपिलवस्तुका ८, पर्साका तीन, नवलपरासीका ३६ वर्षीय पुरुष गरी २४ रहेको सहप्रवक्ता अधिकारीले बताए।

सहप्रवक्ता अधिकाररीका अनुसार रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीयका पुरुष तथा ४, १० र २८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षीय पुरुष, पर्सामा ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला तथा नवलपरासीमा ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले बताए।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सककै सम्पर्कमा रहेका छन्। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ।

यसअघि बुधबार दिउँसो बाँके र कपिलवस्तुका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। संक्रमित २४३ मध्ये ३५ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस