संघीय सांसदहरुलाई जिल्ला जान रोक

बैशाख ३१, २०७७

कोभिड–१९ को संक्रमण बढेपछि संघीय सांसदहरुलाई उपत्यका बाहिर जान रोक लगाइएको छ । संसद सचिवालयले सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्र जान रोक लगाएको हो ।

संसदीय दल मार्फत् सांसदहरुलाई जिल्ला जान रोक लगाइएको छ । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा बजेट अधिवेशन चलिरहेको छ ।


२ जेठमा नीति तथा कार्यक्रम र १५ जेठमा बजेट आउँदैछ । सांसदहरु उपत्यका बाहिर जाँदा संक्रमणको त्रास भएकाले उपत्यका बाहिर जान रोक लगाइएको छ ।

मंगलबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद भीम रावलका सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो । सुरक्षाकर्मीलाई संक्रमण देखिए पछि नेकपाको बुधबारको स्थायी कमिटी स्थगित गरिएको छ ।

संसद सचिवालयले सांसदहरुको भने पीसीआर परीक्षण गरिसकेको छ । संसदमा नीति तथा कार्यक्रम ल्याउनु अगाडि राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयमा रहेकाहरुको समेत परीक्षण गरिएको छ । सवैको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस