विरोधको चरित्रले दाङ्गलाई घाटा : मुख्यमन्त्री पोख्रेल

बैशाख ३१, २०७७

दाङ, ३१ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विरोधको चरित्रले दाङ्गलाई नै घाटा हुने वताएका छन् । व्यक्तिगत र राजनीतिक स्वार्थ प्रेरित भएर गरिने विरोधले समग्र जिल्लाबासीलाई नै नोक्सान हुने उनको भनाई थियो । ‘कुनै पनि कुरा राम्रोसँग वुझेर मात्रै विरोध गर्नु उत्तम हुन्छ’ उनले भने ।

कोरोनाका विरामीलाई उपचार गर्न वनेको अस्पतालमा कोरोनाका विरामी ल्याउँदा कोकोहोलो गर्नुले सकारात्मक सन्देश प्रवाह नगरेको उनको भनाई थियो । ‘अस्पताल भएपछि विरामी आउँने हो राम्रो मान्छे आउँदैन, यस्तो कुरामा पनि किन हामी विरोध गर्छाै ?’ मुख्यमन्त्री पोख्रेलले भने ।

अस्पतालमा विरामी ल्याएकै भरका सबैलाई सर्छ भन्नु अवैज्ञानिक तर्क भएको समेत उनले वताए । ‘कोरोनाका विरामी ल्याउने भनेर वनाएको अस्पतालमा यो ठाउँको ल्याउन दिने यो ठाउँको नदिने भन्ने हुँदैन, जहाँको पनि आउन सक्छ’ मुख्यमन्त्री पोख्रेलले जोड दिए ।

‘दाङ्गमा जे भयो त्यो ठीक भएन , प्रतिशोधको भावनाले केही पनि हुँदैन’ वेलझुण्डी स्थित कोरोना अस्पतालमा भएको छलफल कार्यक्रममा उनले वताए ।

अस्पतालमा कार्यरत चिकित्सकको आत्मविश्वास वढाउनका लागि पनि वाहिरबाट कोरोनाका विरामी ल्याउनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस