व्यवसायीको साझा प्रश्न : हाेला त घरभाडा छुट ?

जेठ ०१, २०७७

कोरोना संक्रमणको प्रकोपका कारण लकडाउन भएको दुइ महिना पुग्न पुग्न आँटेको छ । सम्पूर्ण कार्यालयका साथै व्यापार व्यवसाय समेत ठप्पको अवस्थामा रहेको छ । लकडाउनको अवधिमा घरभाडा नलिनका लागि व्यवसायीबाट अनुरोध गरिएको भएपनि त्यसको कार्यान्वयन जटिल वनेको छ । समाचार लेखनका क्रममा तुलसीपुरका ५० जति व्यवसायीसँग सोध्दा करिब ८० प्रतिशतले अन्यौलता व्यक्त गरे । उनीहरुले घरवेटीसँग यस विषयमा कुरा नभएको मात्रै होइन , भाडा छुट हुने बारेमा विश्वस्त नभएको समेत वताए ।

तुलसीपुरको विरेन्द्र चोकमा माँ दुर्गा इलेक्ट्रोनिक्स सञ्चालन गरेका खिमलाल पाण्डेले घरवेटीसँग कुरा नभएको वताए । “उद्योग वाणिज्य संघ र स्थानीय सरकारले केही पहल लिन्छ कि भन्ने आशा छ ” उनले भने । अहिले बजारका अधिकांश व्यवसायीहरु यस्तै अन्यौलतामा रहेका छन् । “व्यापार शुन्य छ, कहिलेसम्म लकडाउन हुन्छ भन्न सकिन्न भाडा तिर्नुपर्दा समस्यै होला जस्तो छ ” फेन्सी व्यवसायी विनोद रावतले भने । “मासिक ५० हजार भाडा कसरी तिर्नु बैकको ब्याज उस्तै छ, सरोकारवालाले नसोच गाह्रो हुन्छ” उनले गुनासो गरे ।

तुलसीपुर क्षेत्रमा १ हजार ६ सय व्यवसायी संघमा दर्ता भएपनि ५ हजार हाराहारीमा व्यवसायी रहेको उनले वताए

मासिक रुपमा ३० हजार भाडा तिर्दै आएकी संकेत डिजिटलकी सुधा ढकाल भाडा तिर्ने बारेका स्थानीय तह र उद्योग वाणिज्य संघले के गर्छ भनेर कुरेको वताइन् । “सुरुमा एक महिना होला जस्तो भयो अहिले यति लामो भएको छ भाडा तिर्नुपरे गाह्रो छ” ढकालले वताइन् । सरकारले निर्णय गरेर घरवेटी आफैले यस बारेमा निर्णय गरे राम्रो हुने उनको भनाई छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत लकडाउन कहिलेसम्म हुन्छ सोही अनुसार स्थानीय तहसँग समन्वय गरेर अगाडि वढ्ने वताउँछन् । “यो कहिलेसम्म लम्बन्छ त्यही अनुसार हामीले कदम अगाडि वढाउँछौ” उनले भने । तुलसीपुर क्षेत्रमा १ हजार ६ सय व्यवसायी संघमा दर्ता भएपनि ५ हजार हाराहारीमा व्यवसायी रहेको उनले वताए । “करिव ७५ प्रतिशत व्यवसायीहरु भाडामा वस्ने गरेको हाम्रो तथ्यांक रहेको छ ।” अध्यक्ष रावतले भने ।

यता तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तीले विज्ञप्ती नै जारी गरेर घरबेटीलाई भाडा छुट दिन आव्ह्वान गरिएको वताउँछन् । “हामीले पहिले चरणमा अनुरोध गरेका छौ, कतिपयले मान्नु पनि भएको छ,अब के गर्ने भन्ने योजना वनाउँदैछौ” अध्यक्ष घर्तीले भने । उनले व्यवसायी र घरवेटीको अवस्थाका वारेमा चेम्वरले अध्ययन अगाडि वढाउने समेत जानकारी दिए । “घरवेटीको आयस्रोत अरु छ या छैन, व्यवसाय लकडाउनमा पूर्ण वन्द हुने खालको हो या होइन भन्ने विषयमा अध्ययन गर्ने हो” उनले वताए ।

घरबेटी र भाडावालका वारेमा वोलिदिन कुनै संस्था समेत नहुँदा यो अन्यौलता कायमै रहेको छ ।

यसैविच कतिपय घरवेटीहरुले यस विचमा आफैले भाडा नलिने घोषणा समेत सार्वजनिक रुपमा गरेका छन् । यसरी घोषणा गर्नेहरुका धेरै जसोले एक महिनाको घर भाडा छुट दिने घोषणा गरेका हुन् । “जुनदिन लकडाउन घोषणा भयो त्यही दिन देखि आधिकारीक रुपमा नखुल्दासम्मका लागि भाडा नलिने घोषणा गरेको छुँ ” तुलसीपुरका ललित घर्तिले बताए ।

भाडा छुट दिनका लागि घर किन्दा वा बनाउँदा ब्यांकबाट लिएको ऋणको मासिक व्याज छुट गर्नुपर्ने उनीहरुको माग छ ।

समन्वयको अभाव

भाडामा वस्ने र घर भाडामा लगाउनेहरुको एकिन नहुँदा अहिले यस बारेमा समन्वय गर्न अफ्ठेरो भएको देखिन्छ । “धेरैजसोले पसलमा बस्नेहरुको भाडाको कुरा मात्रै गरेका छन् तर समस्या कोठामा वस्नेहरुको पनि छ ” वडा नम्वर ६ बरुवागाउँमा वस्ने भद्र नेपालीले वताए । उनले डेरामा बस्नेहरुका वारेमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने वताए । घरबेटी र भाडावालका बारेमा बाेलिदिन कुनै संस्था समेत नहुँदा यो अन्यौलता कायमै रहेको छ ।

भाडा छुट गर्नैपर्दछः नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले लकडाउनको वेलामा व्यवसायीलाई मात्रै सबैले मर्कामा पार्न नहुने वताउँछन् । लकडाउनको अवधिका व्यवसाय नहुने भएकाले घरवेटीले यस बारेमा केही सोच्नुपर्ने उनको भनाई छ । “व्यवसायीका विभिन्न संस्थाहरुसँग समन्वय गरेर के गर्ने भन्ने वारेमा हामी निश्चित निष्कर्षमा पुग्नेछौ” पाण्डेले भने । उनले घरवेटीले कुनै पनि हालतमा भाडा छुट गर्नुपर्ने कुरामा समेत जोड दिए । उनले घरभाडा छुट गर्ने घरवेटीलाई उपमहानगरपालिकाले घरबहाल कर समेत छुट दिने वताए ।

समस्यामा घरबेटी पनि

केही घरबेटीले भने बाध्यताले घरभाडा लिनुपरिरहेको गुनासो गरेका छन् । सरकारले दिने घरबहाल कर छुट मात्रै पर्याप्त नहुने उनीहरुको भनाइ छ । भाडा छुट दिनका लागि घर किन्दा वा बनाउँदा ब्यांकबाट लिएको ऋणको मासिक व्याज छुट गर्नुपर्ने उनीहरुको माग छ ।

तुलसीपुर ६ डुम्रिगाउँका सन्तोष डाँगीले तिन वर्षअघि ब्यांकबाट ऋण लिएर साढे तीनतलाको घर वनाए । उक्त घरको पहिलो र दोस्रो तलामा पसल र भाडामा वस्ने छन् । डाँगीको कुनै भरपर्दो रोजगार छैन । भाडा नलिने हो भने उनले ब्यांकबाट लिएको ऋणको किस्ता चुक्ता गर्न सक्दिनन् । त्यसैले ब्याज मिनाहा नभएसम्म भाडा छुट दिन नक्ने बाध्यता भएको उनी वताउँछन् । “अतिरिक्त आय नभएको घरवेटीले आफ्नो परिवार कसरी पाल्ने ?” डाँगीले भने ।

 

प्रतिक्रिया दिनुहोस