कालापानी प्रस्थान गर्यो शसस्त्र प्रहरीको टोली

बैशाख ३१, २०७७

तुलसीपुर ।  कालापानीमा नेपाली भूमि मिचिए पछि सरकारले तत्काल त्यसक्षेत्रको सुरक्षा निग्रनी बढाउन सशष्त्र प्रहरीको टोली आज विहान पठाएको छ। नेपाली सेनाको एमआइ१७ हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने गरी ससस्त्र प्रहरीका एआइजी नारायण थापाको नेतृत्वमा टोली खटाएको हो।

बुधबार कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना गरिने कार्यक्रम रहेको छ। एतिहासिक रुपमा यो सुरक्षा क्याम्प पहिलो पटक स्थापना गरिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी सहित छाङरु पुग्ने कार्यक्रम रहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ।

ब्यास गाउँपालिका– १ दार्चुलामा २५ रोपनी जग्गा उपलब्ध भएपछि विओपि स्थापना गरिने भएको हो। सरकारले विओपी स्थापनाका लागि ९ करोड बजेट समेत बिनियोजन गरिसकेको जनाएको छ। कालापानी, लिम्पियाधुराको रक्षार्थ तत्काल ३४ सुरक्षाकर्मी खटिनेछन्।

टोलीमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबू थापा सहित गृहमन्त्रीको सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई समेत दार्चुला प्रस्थान गरेका छन्।
भारतले वर्षौंदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गर्दै आएको छ। यद्यपि, आफ्नै भूमिमा विदेशी सेना तैनाथ हुँदा नेपालले भने सुरक्षाकर्मीसँगै सरकारको कुनै पनि निकायको उपस्थिति देखाएको थिएन।

भारतले १९ किलोमिटर नेपाली भूमि मिचेको परराष्टमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन्। यस अघिसम्म सरकारले कालापानीमा आफ्नो भूमिको सुरक्षार्थ सुरक्षाकर्मी खटाउन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस