यसरी बनाउन सकिन्छ घरलाई पाठशाला

बैशाख ३१, २०७७

नेपाल को संविधान अनुसार “बालबालिका” भन्‍नाले अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति भन्ने बुझिन्छ।आजका  बालबालिका नै मुलुकको भोलिको भविष्य एवम् नीति निर्माता हुन। राष्ट्रका कर्णधार हुन। बिश्वभर फैलिएको कोरोना भाईरसका कारण विद्यालय,कलेज ,मदरसा आदि  अहिले बन्द छन।

विद्यालयहरु बन्द हुँदा लाखौं बालबालिकाहरुको पठनपाठन अवरुद्ध भएको छ । कार्यतालिका अनुसार हुनुपर्ने सबै पठनपाठनका कार्यहरु कहिलेसम्म सर्ने हो भन्ने टुंगो छैन। बालबालिकाहरु पनि आफ्ना नियमित कृयाकलापहरुमा  सहभागी हुन पाएका छैनन ।शिक्षा मन्त्रालयका अनुसार ३५ हजार ५५ विद्यालयका करीब ७० लाख बालबालिकाहरूले  घरमै बस्नुपरेको छ भने युनेस्कोका अनुसार कोभिड १९ कै कारण विश्वभरि लगभग ८४९.४ करोड बालबालिका  प्रभावित भएका छन् ।

भ्रमात्मक समाचार र बन्द परिवेशले अब मरिन्छ कि भन्ने खालका सोचाइहरू बालबालिका एवं विद्यार्थीमा बढ्दै गएको पाइन्छ।

घरभित्रै बस्नुपर्दा निश्चितरूपमा रोगबाट मरिन्छ कि भन्ने डर त छदैछ भने उता शिक्षणसिकाई अवरुद्ध हुदा शैक्षिक सत्र नै प्रभावित हुन्छ कि भन्ने डर पनि छ। अभिभावकहरुलाई बालबालिकाहरुलाई कसरी संक्रमणबाट जोगाउने भन्ने चिन्ताले पिराेलेको छ । हुन त वयस्कहरुको तुलनामा बालबालिका तथा १८ वर्षमुनिका किशोरकिशोरीमा गम्भीर प्रभाव कम देखिएको वैज्ञानिकहरुले बताए पनि मानसिकरुपमा भने गम्भीर प्रभाव पार्ने देखिएको छ।

भ्रमात्मक समाचार र बन्द परिवेशले अब मरिन्छ कि भन्ने खालका सोचाइहरू बालबालिका एवं विद्यार्थीमा बढ्दै गएको पाइन्छ।यस्तो खालको सोचाइ बढेपछि बालबालिकामा विभिन्न खालका मनोसामाजिक समस्याहरू पनि देखा पर्न थालेका छन्। जस्तो कि छाती हल्लिएको जस्तो हुने, रिंगटा लाग्ने, छटपटी हुने, अब मरिने हो कि भन्ने सोचाइ बढ्ने, टाउको दुख्ने, हातगोडा काम्ने, राति निद्रा नलाग्ने, मन हतास हुने, एकोहोरो हुने, अरूसँग बोल्न मन नलाग्ने, पढ्न लेख्न मन नलाग्ने, एक्लै बस्ने जस्ता समस्याहरू धेरैजसो बालबालिकामा देखिन थालेका छन्।

यस्तो जटिल परिस्थितिमा बालबालिकाको सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ र मनोसामाजिक समस्या हल कसरी गर्ने भन्ने बारेमा निम्नानुसार गतिविधि हरु घरमा गराउन सकिन्छ ।

१. शारीरिक ब्यायाम र पुजापाठमा सहभागी  :
बालबालिकालाइ आफुसंगै व्यायामका साथै नियमित रुपमा योग र ध्यान  गराउनुस् जसले उनीहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्दछ । भोजनमा दुध, दहि, मह, बदाम , काजु इत्यादि  दिनुपर्दछ।पर्याप्त निद्रा पुग्ने गरि सुत्नलाई प्रेरित गर्नुपर्दछ। बालबालिकासंग विहान आआफ्नो धर्म संस्कृति अनुसार पुजापाठ गराउनुपर्दछ। । जसले उनीहरुमा आफ्नो धर्म संस्कृतीप्रति सम्मान बढाउछ। हामी कस्तो खालको धर्म संस्कृती अपनाउछौ र हाम्रा संस्कृतिक परम्पराहरुमा कसरी  पश्चिमा संस्कार अनि संस्कृतीले प्रभाव पारेको छ भन्ने कुरा नि सिकाउनुहोस।यसरी जानाकारी गराउदा उनीहरुमा आत्मविस्वास बढ्नुका साथै हाम्रा पुराना गीतसंगीत धर्म संस्कारमा गर्व महसुस गर्ने छन।

घरका पाका सदस्यसँग अधिक समय बिताउनाले पनि बालबालिकामा सिक्ने र बुझ्न खोज्ने बानीको विकास हुन्छ।

२. परिवारका सदस्यहरुसंग घुलमिल :

सिकाईको प्रक्रिया गर्भ अवस्थावाट नै शुरु हुन्छ । त्यसैले एउटा शिशु जन्मदा उसको २५ प्रतिशत वौद्धिक विकास भैसकेको हुन्छ । २ वर्ष हुँदा ७५ प्रतिशत र ८ वर्षमा ८० देखि ९० प्रतिशत वौद्धिक विकास भैसकेको हुन्छ । त्यसैले बालबालिकाले घरमा आमासंग , परिवार र हाम्राे वरपरको वातावरणवाट धेरै कुरा सिकिरहेका हुन्छन । घरका पाका सदस्यसँग अधिक समय बिताउनाले पनि बालबालिकामा सिक्ने र बुझ्न खोज्ने बानीको विकास हुन्छ।

घरका पाका सदस्यबाट जीवन र जगतका धेरै कुराहरु रमाइलो पाराले कथाका माध्यमबाट सिक्न सक्छन। हिजोका पुर्खाहरु कस्तो खालको जीवनशैली अपनाउथे, कस्तो खालको काम गर्थे ? यस्ता कुराहरुको पनि जानकारी पाउँदा   बालबालिकालाइ भविस्यप्रति अझ उर्जाशील बन्न मद्दत पुग्नेछ । बाबुनानी सँग सँगै बसेर  पुस्ताको अनुुभव आदानप्रदान गर्दा बोल्दा शब्द चयन कसरी गर्ने भन्ने बारेमा जानकारी पाउन सक्छन् जस्ले गर्दा जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छन।

यो माध्यमबाट बालबालिकाहरु पाका सदस्यहरुसंग सजिलै घुलमिल भएर सँगै खेलेर काम गर्दै उहाँहरुबाट धेरै  व्यवहारिक कुराहरु सिक्न सक्छन। बालबालिकालाई बेलाबेला गाउँ लिएर जाँदा आफन्त र परिवारसँग आत्मीयता बढ्ने, स्थानीय भाषा, संस्कार र खानपानबारे जानकारी राख्न अवसर मिल्दछ।

३. घरायसी कामबाट सिकाई:

बालबालिकालाई विभिन्न घरायसी काममा संलग्न गराएर सिकाइलाई निरन्तरता दिन सकिन्छ । अभिभावकले घरमा नै बहुविषय र व्यवहार कुशल सीप सिकाउन सकिन्छ।जस्तै भान्सामा पाइने वस्तुका नाम भन्न लगाएर पठन सीपका क्रियाकलाप सिकाउन सकिन्छ।  ती वस्तुहरूबाट नै गणितीय सीप सिकाउन सकिन्छ। जस्तो कि आमाबुवा र भाईले खाएको थाल जम्मा थाल संख्या ३ वटा भो।

भान्छामा प्रयोग हुने भाँडाकुडाबाट र कोठाका सामानबाट सजिलै गणितीय आकारहरु बताउन सकिन्छ। जस्तो कि रोटिको आकार भनेको गोलो हुन्छ। रोटी बेल्ने बेलनाको आकार बेलानाकार हुन्छ, टेबलको आकार आयतकार हुन्छ आदि आदि ।

यसबाट गन्ती ,जोडबिजोड सिकाउन सकिन्छ । यसका साथै भान्छाको काम, घर सफा गर्ने, आफ्नो लुगा आफै धुन,खाना खानु अघि र पछि साबुनपानीले मिचीमिची हात धुन,सामान मिलाएर राख्न ,आफूले खाएको भाँडा पखाल्न,बोतलमा पानी भर्न, चिया पकाउन ,कपाल कोर्न ,नङ काट्न जस्ता क्रियाकलाप सिकाउनाले बालबालिकामा सकारात्मक प्रभाव पर्छ र भविस्यमा परनिर्भरबाटआत्मनिर्भर बन्न सहयोग पुग्दछ।

४. सिर्जनात्मक क्रियाकलापमा सहभागी गराऔं र सिकाऔं:

बालबालिकाहरुलाई घरमा विभिन्न मनोरञ्जनात्मक, ज्ञानवर्धक बाल कथा,कविता पढाउनुस्, उनीहरुलाइ कथा भन्न लगाउनुस, आफुले कथा भनेर बालबालिकालाइ सुनाउनुस् र विचविचमा पात्र, क्रियाबारे प्रश्न सोध्नुस् । कथाभन्दा हाउभाउ, अभिनय सहित भन्ने गर्नुस्।उनीहरुलाई पनि कथा कविता अनि वरिपरि भएका मनपर्ने सामान, घरबाट देखिने, घरमा भएका विभिन्न जनावरको चित्र बनाउन लगाउनुस , चित्रमा रङ् भर्न लगाउनुस, जसले बालबालिकाको सिर्जनशिलतामा निखार ल्याउछ ।

घरमा भएका विभिन्न सामग्रीहरुलाइ गन्ती गर्न लगाउनुस र अंक र अक्षरमा लेख्न लगाउनुस । बालबालिकासंग प्रशस्त मात्रामा समय विताउनुस, उनीहरुसंग मनोरञ्जनात्मक, रचनात्मक, सिर्जनात्मक र सामाजिक विकासका कुराकानी गर्नुस । उनीहरुसंग गीत संगित सुन्नुस, साथै  गीतहरु गाउन लगाउनुस जसले  अन्तरनिहित प्रतिभाको विकासमा सहयोग गर्दछ।

यसले बालबालिकालाई सिर्जनात्मक बनाउनुका साथै स्मरणशक्ति त बढाउँछ नै, शब्द उच्चारणमा सुधार र नयाँ कुरा सिक्ने चाहना वृद्धि पनि गराउँछ। मोबाइलको खेलको सट्टा बालबालिकालाइ घरमा खेल्न सकिने क्यारम, लुडो, चेस, बाघचाल जस्ता खेलहरु खेल्न प्रोत्साहन गर्नुस् ।जसले गर्दा मोबाइलबाट पर्ने मनोबैज्ञानिक असरलाइ कमी गर्दै सामुहमा काम गर्ने प्रवृत्तिको विकास गर्दछ। मोबाइल ल्यापटप प्रयोग गर्दा आफुसंगै बसेर मात्र चलाउन दिनुस। जसले गर्दा विद्युतीय सामग्रीको प्रयोग गरेर पढ्ने बानीको विकास गर्न सहयोग पुर्याउदछ।

५. प्रशंसा र प्रोत्साहन गर्न कन्जुस्याइँ नगरौ:

बालबालिकाको राम्रो कामको प्रशंसा गर्नुस र उनीहरुलाई असल, रचनात्मक, सृजनात्मक, सामाजिक कार्य गर्न सधै प्रोत्साहन गर्नुस् । उच्च प्रशंसाले नै नयाँ काम गर्न प्रेरित गर्दछ। आफ्ना छोराछोरीले गरेको राम्रो कामको प्रशंसा गर्न, उपहार दिनुमा कन्जुस्याई गर्नु हुदैन अनि उनीहरुले गरेको सहयोगको लागि धन्यवाद दिनु पनि बिर्सनु हुदैन। यी शब्द अनि यी सकारात्मक प्रतिक्रियाहरुले उनीहरुको जीवनमा पछि सम्म राम्रो असर पार्दछ।

उनीहरुलाई माया र हौसला दिनाले उनीहरुमा विश्वास र सुरक्षाको भावना विकास हुन्छ, जुन पछि हुर्किदै जाँदा आत्मविश्वासमा परिणत हुन्छ । अभिभावकले गर्ने लगानी भनेको नै यहि हो ।अहिले यहि कुराको कमिले  बालबालिकाको नकारात्मक असर पर्न गई झनझन पढाइमा कमजोर हुदै गएको अवस्था छ।

यो समयमा कोरोनाका कारण मत्यु भएका वा विरामी भएको संख्याबारे लेख्नु वा पढनुको  सट्टा यति निको भएर  फर्किए भन्ने सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नाले बच्चामा सकारात्मक प्रभाव पर्न जाने मनोचिकित्सकहरु बताउछन् ।।बालबालिकाहरुलाई मनोसामाजिक परामर्शद्वारा डर त्रास भय कम गरी विभिन्न क्रियाकलापमा सहभागी गराउनु पर्दछ।

भनिन्छ, आमासंग बसेको बच्चा काम छरितो गर्न सक्ने चलाख र बाबासंग बसेको बच्चा आत्मविस्वासी बन्न सक्छ। त्यसैले बाबुआमा दुबैले बच्चालाई पर्याप्त समय दिनुपर्दछ। यसरी लकडाउनका कारण घरमै बसिरहेका हरेक बालबालिकाहरुलाई अभिभावकले सामान्य अवस्थाको समय भन्दा बढी समय प्रदान गर्न सक्यो भने आफ्ना छोराछोरीहरूको आनीबानी र व्यवहार बुझ्ने र अनुशासित बनाउन सिकाउने उत्तम अवसर हुनेछ।

प्रतिक्रिया दिनुहोस