काेराेना भाइरसः सकारात्मक केही कुरा

बैशाख ३०, २०७७

प्रा.डा. ताराप्रसाद सापकोटा

नोभल कोरोनाभाइरस (कोभिड–१९) महामारीले यतिवेला विश्वव्यापी रूपमा मानव जातिको अस्तित्वमाथि नै धावा बोलिरहेको छ । पहिलो पटक डिसेम्बर, २०२० को अन्त्यमा चीनको वुहानमा देखा परेको यो भाइरस अहिलेसम्म विश्वका २१२ देश तथा क्षेत्रहरूमा फैलिएको छ । र, अहिलेसम्म यसले २ लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ र २.३० मिलियन भन्दा बढी मानिस उपचार गराइरहेका छन् ।

दुःखको कुरा अहिलेसम्म महामारीको उपचारका लागि औषधि तथा खोप आविष्कार भएको छैन । र, वैज्ञानिकहरू पनि यसको अन्त्य ठोकुवा गर्न सकिरहेका छैनन् । यसबाट विश्व अर्थतन्त्र, राजनीति र सामाजिक व्यवस्थामा आउने परिवर्तनको कल्पनाले मात्र पनि विश्व भयभीत बनिरहेको छ ।

सम्भावित सकारात्मक प्रभावहरूः

‘हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ’ भने जस्तै कोभिड–१९ ले  सम्भावित नकारात्मक प्रभावहरूका बावजूद सम्भावित सकारात्मक प्रभावहरू पनि हुनेछन् ।

१. वातावरणीय अवस्थामा सुधारः

लामो लकडाउनका कारण बन्द उद्योगधन्दा, यातायात लगायतका प्रदूषणमा उल्लेख्य कमी आएका कारण प्रकृतिले अनुकूल वातावरण प्राप्त गरेको छ । हामीले देख्यौं कि संसारभरका सबै ठूला नदीहरू सफा भइरहेका छन् । सडक किनारतर्फ हरियाली बढेको छ, मौसमी फूलहरू निर्धक्क फुल्दैछन् । यदि मानव हस्तक्षेप कम हुने हो भने प्राकृतिक प्रक्रियाबाटै वातावरणीय अवस्थामा सुधार हुनेछ ।

२. कृषिको प्राथमिकताः

प्राचीनकालदेखि १८औं शताब्दीसम्म कृषि सबैभन्दा राम्रो पेशा मानिन्थ्यो । १८औं शताब्दीको उत्तराद्र्धमा बेलायतमा सम्पन्न औद्योगिक क्रान्तिले विकासको संरचनामा परिवर्तन ल्यायो र युरोप, अमेरिकाका धेरैजसो ग्रामीण, कृषि समाजलाई औद्योगिक र शहरी समुदायमा परिणत गर्‍यो ।

कोभिड–१९ ले संसारलाई पुनः कृषि र यससँग सम्बन्धित अन्य गतिविधिहरूलाई अपनाउन बाध्य पारिरहेको छ । खेतीका लागि योग्य जमीन भएका देशहरूले कृषि र यससँग सम्बन्धित गतिविधिहरूलाई पहिलो प्राथमिकता दिनेछन् । मानिसहरू तरकारी खेतीका लागि छत, बार्दली, कौसी, बरन्डा तथा करेसाबारी प्रयोग गर्नेछन् । तर अझै पनि कृषिकर्म मानिसको तेस्रो प्राथमिकतामा पर्नेछ, पहिलो र दोस्रो क्रमशः नोकरी र उद्योग व्यापार नै हुनेछन् ।

३. अवैध वैदेशिक रोजगारको हतोत्साहनः

कोभिड–१९ ले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नेछ । रोजगारदाता मुलुकले कति कामदार माग गर्छ त्यो पनि एउटा पाटो हो तर अब शुरूमै निर्धारित सेवासुविधा र आत्मसम्मान सहितको आधारभूत मानवअधिकारको ग्यारेन्टी अब अत्यावश्यक हुनेछ । भएका सहमति र सन्धि पूर्णरूपमा पालना हुनुपर्नेछ, जुन अहिले भइरहेको छैन । फेरि मानिस बहुजातीय समाजको तुलनामा आफ्नो जात भएको समाजमा बढी सुरक्षित महसूस गर्दछन् ।

यदि आकर्षक सुविधा र लाभ सुनिश्चित गरिएको छ भने मानिस कानूनी रूपमै वैदेशिक रोजगारमा जानेछन् । तर, अवैध वैदेशिक रोजगारीलाई यो महामारीले निरुत्साहित गर्नेछ । अमेरिका र युरोपेली मुलुकमा अवैध रूपमा जाने प्रवृत्ति कम गर्नेछ । अवैध प्रवासन र शरणार्थी समस्यामा पनि कमी आउनेछ ।

४. आयुर्वेद र प्राकृतिक चिकित्सामा बढावाः

कोभिड–१९ ले कम साइड इफेक्ट र प्रतिरोधात्मक क्षमता वृद्धिका कारण आयुर्वेद र प्राकृतिक चिकित्सालाई बढावा गर्नेछ ।

५. देशभक्तिको भावनामा बढावाः

कोभिड–१९ ले मानिसहरू विदेशमा भन्दा स्वदेशमै तथा घरमै सुरक्षित महसूस गर्छन् भन्ने कुरा प्रमाणित ग¥यो । विश्वभरका सरकारहरूले आफ्ना नागरिकहरूलाई जहाँ छन् त्यहीं बस्न अनुरोध गरिएकोमा नमानी उनीहरू आफ्नै देश फर्कन चाहे र फर्के । खाडी क्षेत्र लगायतमा भएका नेपालीहरूका हकमा भने लकडाउन र सरकारी नीतिका कारण त्यो हालसम्म सम्भव भएन ।

भारतमा बसोबास गर्ने नेपालीमध्ये १ लाख ३० हजार भन्दा बढी नेपाली लामो दूरी पैदल यात्रा गरेर नेपालको सिमानामा आइपुगे र तीमध्येका केही आ–आफ्नो घरसम्म पुग्न सफल भए । यस्तै हजारौं मानिस आफ्नो घर पुग्न ५०० किलोमिटर भन्दा बढी पैदल यात्रा गरे । कोभिड–१९ ले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ (आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ) भन्ने भनाइ चरितार्थ भएको छ । महामारीले देशभक्तिको भावना बढाएको छ ।

६. सभ्य र वातावरणीय मैत्री व्यवहारको प्रवद्र्धन:

प्रकृतिमाथि मानिसको हस्तक्षेप, अतिक्रमण र दमनले थुप्रै जीव लोप भइरहेका छन् । जीवहरूको अस्तित्वमाथि हस्तक्षेप गरेको छ । यसको परिणामस्वरूप, प्राणीहरूको २५ प्रतिशत पृथ्वीबाट लोप भइसकेको छ, हुने क्रममा छ ।

मानिस र प्रकृतिको सन्तुलनको अभावमा नै प्रकृतिमा रहेका विभिन्न जीवजन्तुका भाइरस मानिसमा सरिरहेको वैज्ञानिकहरूको तर्क छ । बढ्दो प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तनका असरका कारण भविष्यमा पनि यस्तै संकट नआउला भन्न सकिन्न ।

अंग्रेज विद्वान् थोमस रोबर्ट माल्थसले त सन् १७९८ मै प्रतिपादित जनसंख्याको सिद्धान्तमा पृथ्वीको जनसंख्या वृद्धि र खाद्यान्न उत्पादनलाई सन्तुलनमा राख्न समय समयमा अनिकाल र महामारी देखा पर्ने विश्लेषण पनि गरेका थिए । हामीले ब्ल्याक डेथ, कोकोलिज्जली, स्पेनिश फ्लू, यूरोपियन फ्लू, अमेरिकन फ्लू, मलेरिया, एचआईभी/एड्स, स्वाइन फ्लू, इबोला, सार्स, मार्स आदि जस्ता विभिन्न प्रकारका महामारीहरूको अनुभव गरेका छौं जसले यस संसारबाट अरबौंको ज्यान लिएको छ ।

मानव व्यवहार र महामारीबीच प्रत्यक्ष सम्बन्ध रहन्छ । चिकित्सा वैज्ञानिकहरूले ती महामारीहरू विरुद्ध लड्न विभिन्न प्रकारका औषधि र चिकित्सा सम्बन्धित उपकरणहरू आविष्कार गरेका छन् । यद्यपि ती औषधिहरू कोभिड–१९ को उपचारको लागि पर्याप्त छैनन् । तसर्थ, यस महामारीले सामाजिक दूरी, व्यक्तिगत स्वच्छता, वातावरणप्रति सकारात्मक दृष्टिकोण, कार्य संस्कृति र आत्मनिर्भरता जस्ता आचरण परिवर्तन गर्न आग्रह गर्दछ । कोभिड–१९ ले सभ्य र वातावरणीय मैत्री व्यवहारलाई बढावा दिनेछ ।

प्रतिक्रिया दिनुहोस