आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट दिन नमिल्ने

एसइई, कक्षा ११ र १२ को परीक्षा तयारी नछोड्न आग्रह

बैशाख २, २०७७

शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले विद्यार्थीलाई परीक्षाको तयारी थाल्न आग्रह गरिएको हो ।

विभिन्न संघसंस्था र संसद्मा आवाज उठे पनि अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुनअनुसार नै अघि बढ्ने बताए । ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो,’ उनले भने ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अनलाइन अन्तरक्रियामा पौडेलले जीवन जोखिममा राखेर परीक्षा नहुने स्पष्ट पारे । सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने उनले बताए । अहिले विश्वका ७३ बोर्डको परीक्षा स्थगित भएको पौडेलको भनाइ छ ।

शिक्षा मन्त्रालय ‘पर्ख र हेर’ को अवस्थामा

शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले मन्त्रालय अहिलेसम्म ‘पर्ख र हेर’ को अवस्था रहेको बताए । ‘अहिले नै परीक्षाको विकल्पमा जानुपर्ने अवस्था आएको छैन, विद्यार्थीले सकेसम्म डेरा गरी बस्न नपरोस् भन्ने उद्देश्यले परीक्षाको आन्तरिक तयारी र छलफलमा छौँ,’ प्रवक्ता शर्माले भने । आन्तरिक मूल्यांकनका आधारमा सर्टिफिकेट दिने कानुनी व्यवस्था नभएकाले तयारी अवस्थामै रहन उनले आग्रह गरे ।

एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षालाई सहज बनाउन आवश्यक उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत तयारी भइरहेको बताए । एसइईको परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न पनिका तयार रहेको उनको भनाइ थियो । कम्तीमा ५० विद्यार्थी रहने गरी एउटा उपकेन्द्र कायम गर्न राष्ट्रिय परीक्षा बोर्डले परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस