दाङमा हार्डवेयर पसल साताको दुई दिन खुल्ने

बैशाख २, २०७७

तुलसीपुर, २९ वैशाख । दाङ जिल्लामा हप्तामा दुई दिन हार्डवेयर पसलहरु पनि खुल्ने भएका छन् । लामो समयको लकडाउनसँगै ठप्प भएको विकास निर्माणलाई सुचारु गर्ने निर्णयसँगै निर्माण सामग्री आपूर्तिका लागि हप्तामा दुई दिनका लागि पसल खुल्ने भएका हुन् । जिल्लाका विभिन्न स्थानमा शुरु हुने विकास निर्माणका लागि सामग्री आपूर्ति गर्न स्थानीय सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

आर्थिक बर्षको अन्त्य हुन थालेको तथा बर्षातले पनि निर्माणमा अवरोध हुने भएकाले भीडभाड बढी नहुने गरी काम गर्ने वातावरण मिलाउन स्थानीय प्रशासन प्रयत्नशील रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । यससँगै जिल्ला सुरक्षा समितिको बैठकले हार्डवेयर पसलहरु पनि तोकिएको समयमा सञ्चालन गरिने भएको हो।

शनिवार बसेको बैठकले गरेको निर्णयअनुसार विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री सरिया, सिमेन्ट र इँटा कारोबार गर्ने व्यवसायीहरुलाई निर्माण कार्यमा सहजीकरणका लागि हप्ताको दुई दिन बुधवार र शनिवार पसलहरु खोल्न पाइने छ । दुवै दिन यी पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न पाउनेछन् ।

त्यसपछि सम्बन्धित निर्माणस्थलमा पुर्याउन सरोकारवाला निर्माण व्यवसायीहरुले पहल गर्नेछन् । त्यस्तै आयोजनालाई आवश्यक पर्ने कामदारहरु उपलव्ध स्थानीय व्यक्तिहरुलाई परिचालन गरेर सुचारु गर्ने निर्णय पनि गरिएको छ ।

संकट व्यवस्थापन केन्द्रको जिल्ला गत संरचनाको बैठकले यो निर्णय गरेको हो । सो केन्द्रका संयोजकका रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस