कोरोनाका कारण विश्वभर ७८ नेपालीको मृत्यु, साढे ५ हजार संक्रमित

बैशाख २, २०७७

काठमाडाैं- विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीकाे संख्या ७८ पुगेकाे छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।

यस्तै अमेरिकामा १५ जनाकाे मृत्यु भएकाे छ।  न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो।  यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र  स्वीडेनमा एक-एक  जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।

कोरोना भाइरसका कारण यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन्।  ज्यान गुमाउनेमा बेलायतका दुई तथा  स्वीडेन, बहराइन र  युएईका एक-एक थपिएका छन् । संयोजक डा  सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५४७४  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ। विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी  २० देशमा संक्रमित छन्। जसअनुसार कतारमा २३००, अमेरिकामा १५००, बेलायतमा १०००,  बहराइनमा २४५, युएइमा १४९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र  अष्टेलियामा १२-१२, जापान र क्यानडामा १०-१०, बेल्जियममा ६,  स्विट्जरयाण्डमा ५, जर्मनी र फिनल्याण्डमा ४-४, साइप्रस र न्युजिल्याण्डमा ३-३,  माल्दिभ्स, माल्टा र  हङ्गकङ्गमा २-२ तथा म्यानमार र  फ्रान्समा १-१ गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ।

यो साता फिनल्याण्ड, र स्वीडेन (१ मृत्यु) मा नेपालीहरुमा नयाँ संक्रमण  देखिएको हो।

प्रतिक्रिया दिनुहोस