अनलाइन कक्षा  एक अनुभव

बैशाख २८, २०७७

चीनको वुहानमा सर्वप्रथम देखिएको कोरोना भाईरस (covid 19) का कारण हाल विश्व आक्रान्त छ । यसकारण विश्वका प्रायः सबै देशहरु ठप्प छन् । यस महामारीलाई नियन्त्रण गर्नका लागि देशहरु लकडाउनको अवस्थामा छन् । जसका कारण विश्वकै अर्थतन्त्र, पर्यटन ,शिक्षा ,स्वास्थ्य ब्यापार लगाएतका क्षेत्रहरु पूर्णरुपमा प्रभावित भईरहेको तितो यथार्थ हामी सामु छ ।

यस्तो विषम परिस्थितिमा आफ्ना नागरीक एवम् जनताको ज्यान जोगाउनु सबै राष्ट्रको चुनौतिको विषय वनेको छ । यस्तो चुनौतिसंग जुध्नका लागि धेरै देशले अंगालेको रणनीति देश लकडाउन (बन्दाबन्दी) हो । जसवाट एक ठाउमा रहेको ब्यक्ति अर्को ठाउँमा जान सक्दैन फलस्वरुप कोरोना महामारी नियन्त्रणमा सजिलो हुन्छ ।

यसै अनुरुप नेपालमा पनि गत चैत्र ११ गतेदेखि देश पूर्णरुपमा लकडाउन (वन्दावन्दी) को अवस्थामा छ । जसका कारण हरेक क्षेत्रहरु ठप्प प्रायः छन् । व्यक्तिको दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने केही क्षेत्रहरु जस्तो अत्यावश्यक खाद्यान्न पसल , औषधि पसल एम्वुलेन्स केहि मात्रामा सञ्चालित रहेको भएता पनि अन्य क्षेत्रहरु संचालमा छैन्न । यस्तो अवस्थामा ठप्प भएका क्षेत्रहरुको वैकल्पिक उपायहरु सरकारी ,गैरसरकारी ,निजी संघ संस्थासंगै आम जनताले खोजिरहेका छन् ।

वैकल्पिक माध्यमको खोजिको क्रममा शिक्षा क्षेत्रमा पनि कसरी सेवा प्रवाह गर्ने विषयमा वैकल्पिक मार्ग खोज्ने प्रयासको थालनी समेत भइरहेको छ । अर्थात ठप्प शिक्षा क्षेत्रलाई केहि हद सम्म भएपनि मलम लगाउनका लागि वैकल्पिक मार्गको रुपमा अनलाईन कक्षा संञ्चालन गर्ने उपायलाई अगाडी सारिएको छ ।

देशमा लककडाउनको अवधि वढ्दै गएसंगै अनलाईन कक्षाको वहस भइरहेको छ

अनलाईन शिक्षा अर्थात सूचना र संचार प्रविधिका सामग्रीको प्रयोगद्धारा कोसौ टाढा रहेका विद्यार्थी शिक्षक एक ठाउँमा ल्याई पठनपाठन गर्ने विधि तथा पद्धति हो । उनीहरु भौतिक रुपमा टाढा रहे पनि मनोवैज्ञानिक रुपमा उनीहरु संगै रहन्छन् । विदेशी शिक्षण संस्थाका लागि त्यति नौलो नभएको यो प्रविधि हाम्रो लागि भने नौलो छ र त हामी यसको विषयमा तर्क वितर्क गरिरहेका छौ । भनिन्छ ,हरेक कुराको फाईदा र वेफाईदा हुन्छ जसवाट यो विधि पनि अछुतो रहन सक्दैन । यस आलेखमा त्यस्ता फाइदा वेफाईदा कोट्याउनु भन्दा पनि अनलाईन कक्षा लिदाको अनुभव साट्न खोजिएको हो ।

देशमा लककडाउनको अवधि वढ्दै गएसंगै अनलाईन कक्षाको वहस भइरहेको छ र कतिपय शिक्षण संस्थाहरुले सुरु पनि गरिसकेको अवस्था छ । शिक्षा मन्त्रालयले अनलाईन कक्षा संचालनका लागि निश्चित सर्त र मापदन्डको अधिनमा रही संञ्चालन गर्न सकिने वाटो समेत खुलाएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले पनि अनलाइन कक्षा संचालनको कार्यविधि नै प्रकाशन गरेको छ । त्यसैगरी स्थानीय सरकारका रुपमा चिनिने विभिन्न स्थानीय तहहरुले अनलाईन कक्षाको सुरुवात पनि गरीसकेका छन् ।

म आफु ग्राजुयट स्कूल अफ एजुकेशन त्रि.वि को एमफिल तहमा अध्ययनरत विद्यार्थी भएको नाताले उक्त संस्थाले संञ्चालन गरेको अनलाईन कक्षा लिदाको अनुभव यहाँ प्रस्तुत गर्न चाहन्छु । ग्राजुयट स्कूल अफ एजुकेशनको निर्णयानुसार मलाई अनलाईन कक्षा लिनका लागि जानकारी दिएसंगै म अत्यन्त उत्साहित भएको थिए । उत्साहित यस अर्थमा कि मैले यस तहसम्म आईपुग्दा कहिल्यै पनि यस्तो कक्षा लिने अवसर पाएको थिएन ।

प्रत्यक्ष रुपमा सञ्चालित (face to face) कक्षामा अभ्यस्त हामी विद्यार्थीका लागि अनलाइन कक्षा केही नाैलाे र केही फरक खालकाे जस्ताे भएको थियो ।

नेपाल खुला विश्वविद्यालयमा सोहि तहमा अध्ययनरत साथीहरुले अनलाईन शिक्षाका वारेमा साटेका अनुभवले पनि मलाई उक्त विधिवाट शिक्षा लिन उत्साहित गरेको थियो । जानकारी अनुसार ल्यापटप , ईन्टरनेटको प्रबन्ध हुनुपर्ने भनियो र मैले त्यसको प्रबन्ध पनि मिलाए । माइक्रोसप्ट टिम्स एप्लिकेशनबाट कक्षा सञ्चालनका लागि त्यसको अभिमुखिकरण दुई दिन सम्पन्न भयो ।

तत्पश्चात हामी कक्षा नियमित रुपमा लिइरहेका छौ । प्रत्यक्ष रुपमा सञ्चालित (face to face) कक्षामा अभ्यस्त हामी विद्यार्थीका लागि अनलाइन कक्षा केही नाैलाे र केही फरक खालकाे जस्ताे भएको थियो । कक्षा लिने क्रममा बीच बीचमा हुने विद्युत कटौति,पुनः जोडिन लाग्ने समय,पर्याप्त छलफलको अभाव ,उपयूक्त घरायसी वातावरणको अभाव, अध्ययनका लागि पर्याप्त ई सिकाइ सामग्रीको अभावजस्ता चुनौतिहरुले गर्दा एकातिर सिकाई कम भइरहेको मलाइ अनुभूति भईरहेको छ । अर्कातिर त्यहि कारणले गर्दा कक्षा प्रस्तुति (class performance) कमजोर भइरहेको आभास भइरहेको छ ।

यस अनुभव प्रस्तुतिको मुख्य ध्येय वहसमा रहिरहेको अनलाइन शिक्षा हो । अनलाइन शिक्षा आफैमा नराम्रो होइन तर त्यसको सञ्चालन पूर्व केहि प्रश्नहरुको उत्तर खोज्न जरुरी छ । के हाम्रा विद्यार्थी ,शिक्षकहरु सूचना सञ्चार प्रविधिका उपकरणका पहुँचमा छन् ? सञ्चालन र प्रयोग गर्न सक्छन् ? सवै ठाउँमा इन्टरनेट विस्तार भएको छ ? विद्युत विस्तार भएको छ ? विद्युतको प्रसारणको अवस्था कस्तो छ ? र , अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक अन्य पूर्वाधारहरुको अवस्था कस्तो छ ? यी र यस्तै प्रश्नहरुको जवाफले दिन्छ हाम्रो अनलाइन कक्षा सञ्चालनको सक्षमता ।

यसको अर्थ हामी अनलाइन कक्षाका लागि असक्षम छौ भन्ने किमार्थ होइन तर त्यसको सञ्चालनका लागि पूर्व राम्रो तयारी गरेको खण्डमा यसले अपेक्षित प्रतिफल दिने कुरामा दुइ मत छैन । अंग्रेजीमा एउटा भनाइ छ (Well planning is half done) अर्थात कुनै कार्य गर्नुभन्दा अगाडि गरीने उपयूक्त योेजना,कार्य आधा सम्पन्न गरे बराबर हो ।

त्यसैले उपर्यूक्त योजना तयार गरी अनलाईन कक्षा सञ्चालन गरौ जसले गर्दा अनलाईन कक्षाका बारेमा सुनेका हाम्रा ससाना नानी बाबुले त्यसमा प्रत्यक्ष सहभागी भइ लकडाउनको यो विषम परिस्थिमा पनि आफ्नो पठनपाठनलाई नियमित रुपमा सूचारु गर्न सकुन । त्यस्तै यो विपत्तिबाट पाठ सिक्दै आगामी दिनहरुमा आउन सक्ने सम्भावित विपत्तिमा समेत नियमित अनलाइन कक्षा सञ्चालनका लागि त्यसको पूर्वाधार निर्माणमा आजैबाट सम्बन्धित निकायले विलम्ब नगरी त्यसतर्फ ध्यान दिने कि ?

लेखक किर्तिपुर माध्यमिक विद्यालय  किर्तिपुर काठमाण्डौका शिक्षक एवम ग्राजुयट स्कूल अफ एजुकेशन त्रिविका विद्यार्थी हुन ।

प्रतिक्रिया दिनुहोस