भारतमा कोरोना संक्रमणको १०० दिन : ३० दिनसम्म शान्त, मे लागेसँगै दैनिक दुई हजार संक्रमित

बैशाख २८, २०७७

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणको देखिएको मे ८ मा सय दिन पुगेको छ। जनबरी ३० मा पहिलो संक्रमित देखिएको थियो।

आजतकका अनुसार, जनबरी ३० मा केरलाको तृश्शूरमा चीनको वुहानबाट आएका एक मेडिकल विद्यार्थीमा ज्वरो आउने, घाँटी सुख्खा हुने र खोकी लाग्ने भएपछि गरिएको ‘सार्स कोभ२’ परीक्षण पोजेटिभ देखिएको थियो। यो नै भारतको पहिलो केस थियो। त्यतिबेला यसको नाम कोरोना अर्थात् कोभिड १९ समेत रहेको थिएन।

यस सय दिनमा भारतमा धेरै बदलाव आइसकेको छ। महामारी अझै उच्च बिन्दुमा नपुगिसकेको विज्ञहरुले बताइरहेकाले थप चिन्ता थपेको छ।

पहिलो केस देखिएको ३० दिनसम्म भारत शान्त थियो। त्यसपछि भने संक्रमितको संख्या बढ्दै जान थाले। पहिलो ५० दिनमा भारतमा दुई सयभन्दा कम संक्रमित देखापरेका थिए। तर, अप्रिल सुरु भएसँगै संक्रमितको संख्या बढोत्तरी थियो। र मे सुरु भएसँगै भारतमा दैनिक २ हजारका दरले संक्रमित बढिरहेका छन्।

भारतमा महामारीको पहिलो सय दिनमा अमेरिका र बेलायतको तुलनामा कम मात्रामा संक्रमित फेला परे।

भारतमा कोरोना संक्रमित ६० हजार नजिक पुगेको छ। जोन हप्किन्स् विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ५९ हजार ६ सयलाई संक्रमण पुष्टि भइसकेको छ। १९ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

भारतमा महाराष्ट्र, गुजरात तथा दिल्लीमा बढी संक्रमण देखिएको छ। भारतका सबै राज्यमा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ।

त्यहाँका स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतमा जुन र जुलाइमा अझै यो अवस्था जटिल हुनसक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस