तुलसीपुरमा एकैदिन १ सय जनाको स्वाब लिइयो

बैशाख २७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा शनिबार एकैदिन १ सय जनाको स्वाब लिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न ठाउँमा रहेका मानिसहरुको स्वाब संकलन गरेको तुलसीपुरका कोरोना कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले तुलसीपुरका ४१, बबई गाउँपालिकाका ४९ र शान्तिनगरका १० जनाको स्वाब संकलन गरिएको वताए ।

तुलसीपुरबाट होम क्वारेन्टाइनमा रहेकाहरुको समेत स्वाब लिइएको थियो । क्वारेन्टाइनमा रहेका २८ , बटोलपुर सामुदायिक होमस्टेको क्वारेन्टाइनमा रहेको २, लक्ष्मीपुर सामुदायिक होम क्वारेन्टाइनमा रहेको ४ , मुस्लिम समुदायका ३ र १ जना विदेशबाट आएको र तुलसी बाल अस्पतालमा भर्ना भएकी सुत्केरी महिला र बालक सहित ३ जना रहेको पनि केसीले जानकारी दिए ।

शनिवार स्वाब संकलन गरिएका सबैको नतिजा सोमबारसम्म आउने जनाइएको छ । यसैगरी शनिवार मात्रै रक्षाचौर क्वारेन्टाइनमा ९ जना थपिएका छन् । कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले क्वारेन्टाइनका अवलोकन गर्दै सबैको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएका थिए ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको विभिन्न हेल्प डेस्कहरुमा चेकजाँचलाई निरन्तरता दिइएको छ । शनिवार बालापुरमा ५५ जना, मजगैमा १ सय ८८ जना, दमारगाउँमा १२ जना र पवननगरमा ७६ जनाको चेकजाँच गरिएको पनि केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस