कडा चेकजाँच पछि , सुनसान बन्दै दमारगाउँ नाका

बैशाख २६, २०७७

तुलसीपुर । तुलसीपुर प्रवेश गर्ने दमारगाउँ नाका अहिले सुनसान जस्तै वनेको छ । नेपालगञ्जमा ठूलो संख्यामा कोरोना संक्रमित देखिएसँगै तुलसीपुर उपमहानगरपालिकाले आवतजावतमा कडाइ गरेपछि नाका सुनसान जस्तै वनेको हो । अहिले नाकामा एम्वुलेन्स र खाद्यान्न लगायतका अत्यावश्यक सामान वोकेका गाडीहरु मात्रै सञ्चालन भएका छन् । “दैनिक एकदर्जन जति पनि सवारी चल्दैनन” फुलवारी स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानवहादुर वस्नेतले जानकारी दिए ।

उनका अनुसार सामान्य मानिसलाई वोक्ने केही एम्वुलेन्सलाई कारवाही समेत गरिएको छ । “चालकले अनिवार्य पिपिइ, मास्क र एन १९ मास्क लगाएको हुनुपर्छ अन्यथा हामी कारबाही समेत गर्छाै” वस्नेतले वताए । उनले एक दर्जन एम्वुलेन्सलाई कारवाही समेत गरिएको जानकारी दिए ।
यसैविच कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले नाकाको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनले संवेदनशिल भएर चेकजाँच गर्न आग्रह समेत गरे । “यहाँ राम्रोसँग चेक गर्नुभयो भने तुलसीपुरलाई कोरोनाबाट वचाउँन सकिन्छ” कार्यवाहक नगरप्रमुख लामिछानेले वताए । उनले शंकास्पद व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने कुरामा जोड दिए । “सानो गल्तिले पनि ठूलो क्षति हुने भएकाले सम्हालेर काम गर्नुहोला” उनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई निर्देशन दिए ।
स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानले रातको समयमा विशेष ख्याल गर्न आग्रह गरे ।

“हामीले चौविसै घण्टा ड्युटी गर्नुपर्दछ , कोही पनि मान्छेलाई चेकजाँच नगराएर जान दिनु हुँदैन” न्यौपानेले भने । उनले चालकका साथै यात्रुले पनि सुरक्षाको साधन प्रयोग गरे या नगरेको वारेमा जानकारी लिनुपर्ने वताए । “कसैले पनि सुरक्षाको साधन प्रयोग गर्दैन भने त्यस्तालाई तत्काल कारवाही गर्नुपर्दछ ” न्यौपानको भनाई थियो ।

नेपालगञ्जमा कोरोना संक्रमण देखिएसँगै तुलसीपुर उपमहानगरपालिकाले चारवटै नाकामा स्वास्थ्य र सुरक्षा चेकजाँचको व्यवस्था गरेको छ । सबैभन्दा धेरै अमिलियाबाट आउने भएकाले दमारगाउँ नाकालाई विशेष ढँगले सञ्चालन गरिएको छ । उपमहानगरपालिकाले उत्तरमा गोठीखोला, दक्षिणमा दमारगाउँ, पूर्वमा मज्गै र पश्चिममा बालापुरमा कोरोना चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस