रोटरी क्लब अफ तुलसीपुर सिटिले दियो स्वास्थ्य सामग्री

बैशाख २६, २०७७

बैशाख २६, तुलसीपुर । विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाईरस (कोभिड १९) को उच्च जोखिमका बिच फ्रन्ट लाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै रोटरी क्लब अफ तुलसीपुर सिटिले दाङका तीन वटा गाउपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

तीन चरणमा आयोजित एक अनौपचारिक कार्यक्रममा क्लबका अध्यक्ष देवबहादुर केसीले ववई गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरी खड्का र  दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी तथा शान्तीनगर गाउँपालिकाका कार्यकारी प्रमुख नर बहादुर विश्वकर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

क्लबको कार्यालयमा वितरण गरिएको उक्त सामग्रीमा प्रत्येक पालिकालाई उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान र साबुन १ सय ४४ थान रहेको क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले जानकारी दिए । वितरित सुरक्षा सामग्री ग्रहण गर्दै तीन वटै पालिकाका प्रतिनिधिहरुले स्थानीय निकायलाई विभिन्न संघ संस्थाहरुले सबै तहबाट सहयोग गरेकाले सहज भएको भन्दै सहयोगी मनहरु प्रति आभार प्रकट गरेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्नका लागि संघ संस्थाहरु पनि जिम्मेवार भएर लाग्नुपर्छ भनेर स्थानीय तहलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराउने रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान र रोटरी क्लब अफ धुलिखेललाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिजय केसी, वीर बहादुर रावत, उपाध्यक्ष बिनिल केसी लगायतको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस