संसदको बजेट अधिवेशन आजदेखि

बैशाख २६, २०७७

संघीय संसदको बजेट अधिवेशन शुक्रबार (आज) देखि शुरु हुँदैछ । शुक्रबार अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

संघीय संसद सचिवालयले बिहीबार नै सबै तयारी पुरा भइसकेको जानकारी गराइसकेको छ भने प्रतिनिधिसभा र राष्ट्रियसभाको आ आफ्नो संभावित कार्यसूची समेत प्रकाशित भइसकेको छ ।

संसद भवन

सदनमा आइतबारदेखि प्रि-बजेट छलफल हुनेछ भने २ जेठमा नीति तथा कार्यक्रम र १५ जेठमा बजेट वक्तव्य प्रस्तुत हुनेछ ।

दुवै सदनमा आज पहिलो दिन राष्ट्रपतिबाट प्राप्त संसद अधिवेशन आह्वानको पत्र पढेर सुनाउनुका साथै संसदीय दलका नेताहरुले मन्तव्य राख्नेसहितको कार्यसूची रहेको छ । त्यसका साथै संसदका अन्य नियमित कार्य पनि कार्यसूचीमा राखिएको छ ।

कोरोनाभाइरसको संक्रमणका कारण यस पटकको बैठक फरक ढंगले बस्नेछ । संक्रमणको जोखिम कम गर्नका लागि सामाजिक दुरी कायम गरेर दुईजनाको बीचमा दुईवटा कुर्सी खाली राखिनेछ ।

सबै सांसदका पीसीआर परीक्षण गरेर रिपोर्टका आधारमा मात्र बैठक स्थलमा जान दिइने तयारी भएको छ ।

स्वास्थ्य सतर्कताको हिसाबले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विज्ञहरुको सुझावमा तयारी गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस