मुम्बईबाट एक साताअघि लुकेर नेपाल आएका थिए कपिलवस्तुका संक्रमित

बैशाख २६, २०७७

काठमाडौं। कपिलवस्तुमा संक्रमण पुष्‍टि भएका दुई युवक एक साताअघि लुकिछिपि नेपाल प्रवेश गरेको पाइएको छ।

नेपाल-भारत नाका पूर्ण रूपमा सिल गरिए पनि उनीहरू राति प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेका थिए।

कपिलवस्तुको मायादेवी गाउँपालिका-२ का १६ वर्षीय र २२ वर्षीय युवक भारतको मुम्बईबाट फर्किएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

“लुकेर नेपाल प्रवेश गरेको थाहा पाएलगत्तै उनीहरूलाई मायादेवी १ पकडीस्थित छत्रपाली तीर्थादेवी विद्यालयको क्‍वारेन्टाइनमा राखिएको थियो,” उनले भने, “केही दिनअघि क्‍वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाबको नमूना परीक्षण गरिएको थियो।”

उनीहरूलाई रूपन्देहीको कोरोना अस्पतालको आइसोलेसनमा लगिएको पौडेलले जानकारी दिए। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ।

मायादेवी गाउँपालिकाका विभिन्‍न क्‍वारेन्टाइनमा रहेका मानिसको नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। हिजो राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्‍टि भएको हो।

स्थानीय प्रशासनले दुईजनामा संक्रमण पुष्‍टि भएपछि उनीहरूको परिवार, सम्पर्कमा रहेका व्यक्तिहरूको ट्रेसिङको काम शुरु गरेको छ।

“नाका सिल भए पनि रातारात अहिले पनि मानिसहरू नेपाल प्रवेश गरिरहेका छन्,” कपिलवस्तुका एक स्थानीय तहका प्रमुखले भने, “दिउँसो सुरक्षा जाँच कडा पारिएजस्तो गरे पनि राति खासै वास्ता हुँदैन। यी दुईजना एक साताअघि कसरी नेपाल प्रवेश गरे।”

यो सहित प्रदेश-५ मा संक्रमितको संख्या २६ पुगेको छ। नेपालगञ्‍जमा २३, रूपन्देहीमा एक र कपिलवस्तुमा दुईजना संक्रमित देखिएका छन्। नेपालमा संक्रमितको संख्या एक सय एक पुगेको छ।

प्रतिक्रिया दिनुहोस