बहसमा अनलाईन कक्षा

बैशाख २६, २०७७

कोरोना भाइरस महामारीको कारणले शैक्षिक संस्थाहरु बन्द छन् । वैशाषदेखि शुरु हुने शैक्षिक सत्र अझै शुरु हुन सकेको छैन् । कहिलेदेखि शैक्षिक सत्र शुरु हुने हो अझै अनिश्चित छ । कहिलेदेखि लकडाउन तथा विद्यालय खुल्ने हो भन्ने चासो शिक्षक, विद्यार्थी र अभिभावकहरुमा छ । लकडाउन अझै लामो समयसम्म लम्बिने हो भने विद्यालयले कसरी विद्यार्थीहरुलाई पठपाठन गर्ने हो ? प्रश्न चिन्ह खडा भएको छ ।

विश्वका धेरै देशहरुले यो कठिन समयमा आफ्ना विद्यार्थीहरुसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नका लागि भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन गराइरहेका छन् ।

………………………………………………………………………………………………………………………………………………………

विश्वभर करीब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अवरुद्ध भएको छ । कुल विद्यार्थी संख्याको ९१.३% अर्थात १ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् । विद्यालय तहमा देशभरका सामुदायिक र नीजि विद्यालयका ७२ लाख १४ हजार विद्यार्थी र उच्च शिक्षा अन्तर्गत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु आज घरमै छन् ।

विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक उपायहरुको खोजी भईरहेको छ । शैक्षिक संस्थाहरु आधुनिक शिक्षण पद्धतिको खोजिमा छन् । अनलाइन कक्षाको विषयमा बहस भइरहेको छ । अहिलेको वैकल्पिक उपाय इ–लर्निङ, रेडियो, टेलिभिजन र टेलिफोन नै हो । यो असामान्य परिस्थितिमा हिजोको सामान्य समयको मोडेल काम नलाग्न सक्छ ।

यो असामान्य परिस्थितिमा वैकल्पिक उपाय खोज्न आवश्यक छ । विश्वका धेरै देशहरुले यो कठिन समयमा आफ्ना विद्यार्थीहरुसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नका लागि भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन गराइरहेका छन् । विद्यालयको भौगलिक अवस्था, क्षेत्र, इन्टरनेटको पहुँच, विद्यार्थी र अभिभावकको अवस्थालाई हेरेर शिक्षण सिकाईका वैकल्पिक उपायहरु खोज्न र लागु गर्न आवश्यक छ ।

लकडाउनले सबैलाई शैक्षणिक विधिहरु रुपान्तरण गर्ने अवसर प्राप्त भएको छ । विद्यालय, अभिभावक र विद्यार्थी प्रविधिमैत्री हुनुपर्दछ भन्ने सन्देश लकडाउनले दिएको छ । यो अवस्थामा विद्यालयहरुले अनलाइन लर्निङको शुरुवाट गर्न जरुरी छ । गुगल क्लासरुम, जुम, जीटसी मिट, माइक्रोसफ्ट टिम्स मार्फट अनलाइन कक्षाहरु सजिलै सञ्चालन गर्न सकिन्छ । हामी असहज परिस्थितिलाई सहज बनाउने हो । चुनौतिको समाधान गर्ने हो । हामी परिस्थिति अनुसार चल्नैपर्ने छ ।

विद्यार्थीहरुलाई नियमित शैक्षिक गतिविधिबाट टाढा हुन नदिन र उनीहरुसँग शैक्षिक सम्पर्क मजबुत गर्न अनलाइन कक्षा, भर्चुअल कक्षा, डिस्टान्स लर्निङको जरुरी छ ।

………………………………………………………………………………………………………………………………………………………

संस्थागत विद्यालयहरु विद्यार्थी र अभिभावकहरुको सुचना र प्रविधिको पहुँचको आधारमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । अनलाइन कक्षाहरु पाइलट प्रोजेक्टको रुपमा सञ्चालन गर्ने गरिरहेका छन् । नेपालको भौगलिक अवस्थाको कारणले प्रविधिको पहुँच हुन नसकेको ठाँउहरुमा सबै अभिभावक र विद्यार्थीको इन्टरनेटमा पहुँचमा छैन । कुनै विद्यालयका अभिभावक र विद्यार्थी इन्टरनेटको पहुँचमा छन् भने विद्यालयले अनलाइन कक्षा शुरु गर्दा टाउको दुखाउनुपर्ने आवश्यक छैन् । प्रविधिको पहुँच विस्तारै बढ्दै जान्छ ।

तसर्थ प्रविधिको पहुँच नहुने अभिभावक र विद्यार्थीले चिन्ता मान्नु पर्दैन । यो पुर्ण कक्षा होईन । विद्यालय खुलेपछि शुरुदेखि नै पठनपाठन हुन्छ । विद्यालय, अभिभावक र विद्यार्थी बीच निरन्तर सम्पर्क गर्नको लागि अनलाइन कक्षा सञ्चालन गरेका छन् । विद्यार्थीहरुलाई नियमित शैक्षिक गतिविधिबाट टाढा हुन नदिन र उनीहरुसँग शैक्षिक सम्पर्क मजबुत गर्न अनलाइन कक्षा, भर्चुअल कक्षा, डिस्टान्स लर्निङको जरुरी छ ।
सामुदायिक विद्यालयहरु किन कमजोर हुनुको एउटा कारण विद्यालय, अभिभावक र विद्यार्थी बीच निरन्तर सम्पर्क नभएर नै हो । विद्यालय, अभिभावक र विद्यार्थी बीच कम्युनिकेशन ग्याप भएर हो ।

तसर्थ यो ग्यापलाई जोड्न विकल्पको रुपमा अनलाइन कक्षालाई लिन सकिन्छ । इन्टरनेटको पहु“च नभएको ठाउँहरुमा एफएम, रेडियो, टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गर्न सकिन्छ । एफएम र रेडियाको माध्यमबाट कक्षा सञ्चालन गर्दा ग्रामीण भेगका विद्यार्थीहरु पढाईका साथै मनोरञ्जन र दैनिक काम पनि गर्न सक्छन् । टेलिभिजनको व्यवस्था भएका विद्यार्थीलाई टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्न सकिन्छ । इन्टरनेटको पहुँच भएका विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । वहुवैकल्पिक उपायको माध्यमबाट कक्षा सञ्चालन गर्न सकिन्छ । यो चुनौति हाम्रो लागि अवसर पनि हो ।

स्थानीय सरकारले विद्यार्थी र शिक्षकलाई सरकारले कम्प्युटर वा मोबाइलको व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।

………………………………………………………………………………………………………………………………………………………

सरकारले शुल्क लिएर अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । अनलाइन कक्षालाई औपचारिक कक्षाको मान्यता नदिन पनि निर्देशन दिएको छ । तर अनलाइन कक्षा सञ्चालन शुल्क लिनको लागि होईन । संस्थागत विद्यालयले शुल्क लिदैनन् र लिएका पनि छैनन् । यदि कुनै विद्यालयले अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीसँग शुल्क लिएका छन् भने सरकारले तुरुन्त कार्वाही गर्नुपर्दछ ।
अन्यथा सरकारले यो वा त्यो नाममा संस्थागत विद्यालयलाई दोष लगाउने काम गर्नुहुँदैन । विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ पनि भन्ने तर थालेको काम पनि विरोध गर्ने प्रवृति राम्रो होईन ।

सरकारले नै भ्रम सृजना गर्नुहुँदैन । नेपालको शिक्षा प्रणालीलाई डिजिटल युगसँग जोड्ने सुनौलो अवसर हो । सरकारले स्कुल, कलेज खोल्न हतारो नगरी अनलाइन कक्षा सञ्चालन गर्न प्रेरित गर्नुपर्दछ । सरकारले विद्यार्थीलाई लक्षित गर्दै निशुल्क वा न्युनतम शुल्कमा ईन्टरनेटको व्यवस्था मिलाउनुपर्छ । स्थानीय सरकारले विद्यार्थी र शिक्षकलाई सरकारले कम्प्युटर वा मोबाइलको व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।

तर अनलाइन कक्षाका थुप्रै चुनौतिहरु छन् । सबैमा सुचना तथा प्रविधिको पहुँच छैन । देशको भौगलिक अवस्थाले पुर्वाधार निर्माण गर्न कठिन छ । विद्युत प्रसारण भरपर्दो छैन । शिक्षकहरु प्रविधिमा पोख्त छैनन् । अनलाइन कक्षा इन्टरनेटको पहुँचसँग मात्र जोडिएको छैन, शिक्षकसँग पनि जोडिएको छ । हामी शिक्षकहरु मोबाइल चलाउँछौ । इमेल इन्टरनेट प्रयोग गरेर फेसबुक र युट्युव पनि प्रयोग गर्छौ । तर सुचना र प्रविधिलाई कसरी शिक्षासँग जोड्न सकिन्छ भन्ने हेक्का राखेनौ । कतिपय शिक्षकलाई अनलाइन कक्षा कसरी सञ्चालन गर्ने भन्ने ज्ञान पनि छैन् ।

अनलाइन कक्षा सञ्चालन गर्न सकिदैंन भन्ने दृष्टिकोबाट सोच्यौ भने अनलाइन कक्षा कठिन, प्रभावहीन, देखावटी, निरर्थक र असम्भव देखिन्छ ।

………………………………………………………………………………………………………………………………………………………

तसर्थ हामी रुपान्तरण हुनको लागि पनि सुचना र प्रविधिसँग नजिक हुनुपर्यो । कुनैबेला सरकारले घरघरमा टिभि र हात हातमा मोबाइल भन्ने नारा लगाउँदा यो हावादारी र असम्भव कुरा हो भनेर सरकारको खिल्लि उडाएको पनि हामीलाई थाहा छ । तर आज यो सम्भव भएको छ । तसर्थ असम्भवलाई सम्भव बनाउन शुरुवाट गर्नैपर्छ । हामी शुरुवात त गरौं । हामी कोशिस त गरौं । कुनै काम शुरुवाट नै नगरेर टिकाटिप्पणी गर्नु समय सान्दर्भिक होईन । निश्चय पनि काम गर्ने क्रममा स्वाभाविक रुपमा चुनौतिहरु आउँछन् । हामी चुनौतीहरुको सामना गर्दै अगाडी जाने हो । इ–लर्निङ सम्भव छैन भने के सम्भव छ ? कहिले सम्भव हुन्छ ? समाधान र उपाय दिनुपर्छ । हामी शिक्षकहरु रुपान्तरण हुने सुनौलो अवसर हो ।

यो समयमा पनि परिवर्तन हुन सकेनौ भने हामी कहिले पनि परिवर्तन हुन सक्दैनौ । हामीले अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने दृष्टिकोबाट सोच्यौ भने अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । तर अनलाइन कक्षा सञ्चालन गर्न सकिदैंन भन्ने दृष्टिकोबाट सोच्यौ भने अनलाइन कक्षा कठिन, प्रभावहीन, देखावटी, निरर्थक र असम्भव देखिन्छ । पैसा असुल्ने माध्यम मात्र हो भन्ने बुझाई हुन्छ । अनलाइन कक्षालाई कसरी बुझ्ने भन्ने दृष्टिकोणमा भरपर्दछ । तसर्थ अनलाइन कक्षा सञ्चालन सम्बन्धि स्पष्ट धारणा र बुझाई हुनुपर्दछ । तपाई सोह्रलाई सोह्र भन्नुहुन्छ वा एकानब्बे भन्नुहुन्छ, त्यो तपाईमा भरपर्ने कुरा हो ।

प्रतिक्रिया दिनुहोस