जेठ २ मा नीति तथा कार्यक्रम आउने
सरकारले २ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् । संघीय संसदको बर्खे (बजेट) अधिवेशन भोलि २६ वैशाखमा शुरु हुँदैछ ।

आइतबारदेखि प्रि–बजेट (विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता) छलफल गरिनेछ । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने हुन्छ भने त्यसअघि प्रिबजेट छलफल र नीति तथा कार्यक्रम प्रस्तुत हुनुपर्छ ।
प्रिबजेट छलफल प्रतिनिधिसभामा ३ दिन र राष्ट्रियसभामा दुई दिन गर्ने तयारी छ । प्रतिनिधिसभामा धेरै सांसद भएकाले एक दिन बढी छलफल राखिएको सचिवालयले जनाएको छ ।
बजेटभन्दा कम्तीमा एक महिना अघि नै संसदको बजेट अधिवेशन शुरु हुने प्रचलन रहे पनि यस पटक कोरोनाभाइरसको संक्रमणका कारण ११ चैतदेखि बन्दाबन्दी जारी रहेकाले संसद अधिवेशन नै गत वर्षभन्दा १० दिनपछि शुक्रबारदेखि शुरु हुँदैछ ।
राष्ट्रियसभाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने संयुक्त बैठकसहित आफ्नो छुट्टै संभावित कार्यसूची पनि तयार पारेको छ । राष्ट्रियसभाले २६ वैशाखदेखि १७ असारसम्मकारे कार्यसूची तयार पारेको हो ।
प्रतिक्रिया दिनुहोस