रोल्पामा चट्याङ लागेर दुईजनाको मृत्यु

बैशाख २५, २०७७

रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको लुंग्री गाउँपालिका-२ सिर्पका दुई पुरुषको मृत्यु भएको हो । चट्याङ लागेर ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक  र पुन छिमेकी हुन् । बिहान साढ ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए । पुन शौचालय जाँदै गरेका बेला चट्याङमा परेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जनाए । घटनालगत्तै सिर्पमा रहेको प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाए । इलाका प्रहरी चौकी सुलिचौरबाट सइको कमाण्डमा ठप प्रहरी सिर्प पुगेर घटनाको मुचुल्का उठाएको छ ।

भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको छ । एउटा बाख्रा पाठा समेत मरेको छ । गाउँपालिका अध्यक्ष खड्काका अनुसार चट्याङले घरको भित्ताको माटो उप्किएको छ । गहुँबाली भित्र्याउने चटारोमा रहेका किसान केही दिनदेखि परेको वर्षाले प्रभावित भएकै बेला चट्याङ लागेर दुईको मृत्युले गाउँ शोकमा डुवेको छ । शव पोष्टमार्टमका लागि सुलिचौर ल्याइएको छ ।

मृत्यु भएका दुवैका परिवारलाई गाउँपालिकाले २५ हजारका दरले किरिया खर्च दिने अध्यक्ष खड्काले जनाए । दुर्घटनाको खबर पाएपछि उनी सिर्प पुगेका थिए।

प्रतिक्रिया दिनुहोस