प्रदेश नम्बर ५ मा संकट व्यवस्थापन समितिको वैठक, कोरोना प्रभावित क्षेत्रमा परीक्षणको दायरा वढाउने (निर्णय सहित)

बैशाख २४, २०७७

 

तुलसीपुर । प्रदेश नम्वर ५ को कोरोना प्रभावित क्षेत्र नेपालगञ्जमा परीक्षणको दायरा वढाइने भएको छ । मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा वसेको संकट व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकले सामाजिक विकास मन्त्रालयलाई तत्काल समन्वय गरेर कोरोना भाइरसको उपचार क्षमता वनाउँने समेत निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले जानकारी दिए ।

वैठकले स्थानीय श्रमिकहरु प्रयोग गरेर कामहरु सञ्चालन गर्न सकिने गरी प्रमुख जिल्ला अधिकारीलाई समन्वय गर्ने जिम्मा समेत दिएको छ । बैठकले कृषकहरुका लागि आवश्यक बिउ आयात गर्नका लागि सम्वन्धित पालिकाहरुको सिफारिसमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गरी सहजै उपलब्ध हुने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

वैठकले निम्न १२ निर्णयहरु गरेको छ ।

१. कोरोना भाइरसको उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

२. प्रदेशमा कोरोना भाइरसको खासगरी नेपालगञ्जमा बढी प्रभाव देखिएकोले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्वीपमेन्ट, औषधी उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले आवश्यक संयोजन गर्ने ।

३. कोरोना भाइरसका संकास्पद विरामीहरुको पिसिआर परीक्षणलाई जोड दिने । कोभिडका शंकास्पद बिरामीका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाव संकलनको व्यवस्था मिलाउने । रिपोर्ट पोजेटिभ देखिएमा कोरोना बिशेष अस्पतालमा पुर्याउने ।

४. कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस (कोभिड (१९) रोकथाम तथा उपचार कोषबाट नियमानुसार खर्च गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने ।

५. नेपाल भारत सीमा क्षेत्रको सुरक्षासम्वन्धी जनशक्ति, आवश्यक सामग्री र आवास लगायतको समस्याका सम्वन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्ने । प्राथमिक उपचारका लागि आवश्यक औषधी र स्वास्थ्यजन्य उपकरण सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने ।

६. स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालनका लागि प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गर्ने । अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्वन्धित पालिका भित्रकै श्रमिकहरुलाई उपयोग गर्ने र दक्ष कामदारका हकमा प्रदेश भित्रबाट उपलब्ध गराउन सकिने। यसका लागि पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिने ब्यबस्था मिलाउने ।

७. विकास निर्माणसँग सम्वन्धित निर्माण सामग्रीहरुको ढुवानी व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने ।

८. कृषकहरुका लागि आवश्यक बिउ आयात गर्नका लागि सम्वन्धित पालिकाहरुको सिफारिसमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गरी सहजै उपलब्ध हुने व्यवस्था मिलाउने ।

९. विद्यालय संचालनका हकमा नेपाल सरकारबाट भएको निर्णयको कार्यान्वयन गर्ने । विद्यालयहरुले संचालन गरेको परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने ।

१०. प्रदेशमा कोरोना भाइरसको संक्रमणको अबस्था हेरी क्षमता बिस्ताका साथै थप आइसोलेसन अस्पतालहरुको योजना सामाजिक विकास मन्त्रालयले तयार गर्ने ।

११. भारतबाट आउनसक्ने नेपालीलाई लक्षित गरी यस पूर्ब निर्णंय भएका बाँके र रुपन्देहीका साथै कपिलवस्तु जिल्लामा समेत थप तीन हजार क्वारेन्टाइन बेडको व्यवस्था पालिका तहमा गर्ने, यसका लागि प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने ।

१२. क्वारेन्टाइनको ब्यबस्थापनका लागि भएको खर्चको बिबरण तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट शोधभर्ना माग गर्ने।

प्रतिक्रिया दिनुहोस