तुलसीपुरमा बजार अनुगमन, म्याद नाँघेका सामान बरामद

बैशाख २३, २०७७

तुलसीपुर । लकडाउनको समयमा गलत फाइदा उठाउँदै म्याद नाँघेका र अखाद्य वस्तु विक्री गर्दै आएका तुलसीपुर क्षेत्रका ४ वटा पसलबाट सामान वरामद गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा खाद्यान्न तथा किराना पसलहरुबाट अखाद्यका साथै म्याद नाँघेका वस्तुहरु समेत वेच्ने गरेको पाइएको थियो ।

उपभोक्ता हित संरक्षण शाखाकी अधिकृत रेवा रावतको नेतृत्वमा वजार क्षेत्रभित्र रहेका एक दर्जन पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनमा क्रममा ४ वटा पसलबाट म्याद नाँघेका र अखाद्य वस्तुहरु वरामद गरिएको वताइएको छ ।

‘ पसलबाट विभिन्न परिमाणमा चाउँचाउँ, विस्कुट, चिउरा, वेसन, तेल, लिचि जुस, फ्रुटी, मसला, गुल्कोज, एप्पल जुस लगायतका सामानहरु वरामद गरिएको छ ’ अधिकृत रावतले वताइन् ।

यसरी सामान बरामद गरिएका पसलहरुमा जेसिज चोकमा रहेको ढकाल स्टोर, उद्योग वाणिज्य संघको चोकमा रहेको पञ्चकोषी ट्रेडर्स, दुर सञ्चार अगाडी रहेको पञ्चकोषी सप्लायर्स र विरेन्द्र चोक नजिकको अरनिको मिनी मार्केट लगायतका रहेको जनाइएको छ ।

अनुगमनका क्रममा सबै पसलहरुलाई मुल्यसूचि राख्नका लागि निर्देशन समेत दिइएको थियो । ‘सबै पसलहरुले मुल्य सूचि राख्ने प्रतिवद्धता जनाएका छन् ’ वडा नम्वर ५ का वडा सदस्य सुरेश श्रेष्ठले वताए ।

विभिन्न ठाउँबाट जनगुनासो आएसँगै तुलसीपुर उपमहानगरपालिकाले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा वरामद गरिएको सामान सबैको रोहवरमा नष्ट गरिने भएको छ । अनुगमनमा इलाका प्रशासन कार्यालय,सुरक्षाकर्मी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस