संस्कार पाठशालाकाे “फेसवुकमा” प्रोजेक्ट वर्क

बैशाख २३, २०७७

 

 

तुलसीपुर । तुलसीपुरमा रहेको संस्कार पाठशालामा पढ्ने संयक पोखरेल लामो समय विद्यालय वन्द हुँदा दिक्क थिए । नत साथी भेट्न पाइएको छ, नत विद्यालय मै जान । तर एकसाता यता उनी घरमा केही न केही चित्र वनाइरहेका हुन्छन् । “बाबाले सरहरुलाई पठाइदिनुहुन्छ अनि स्कुलको पेजमा आउँछ” पोख्रेलले भने ।

उनले घरमा एक्लै वनाएको चित्रलाई फेसवुक पेजमा उनका सबै साथीहरुले लाइक र कमेन्ट गरिरहेका हुन्छन् । “राम्रो कमेन्ट आएपछि काम गर्न मजा लागेको छ ” उनले भने । सामान्य भन्दा पनि कुनै न कुनै सन्देश दिन खालको चित्र उनले वनाएका हुन्छन् ।

यस्तै सोही विद्यालयमा अध्ययन गर्ने हार्दिक रिजाल पनि विभिन्न शब्दसँग मिल्दा चित्रहरु खोजिरहेका हुन्छन् । केही समय अगाडिसम्म फुर्सद भइरहने उनी अहिले विद्यालयले दिएको परियोजनामा निकै व्यस्त रहेका देखिन्छन् । “आज विभिन्न एक्सन वर्डहरुको चित्र खोजेर प्रोजेक्ट वर्क गरे” उनले भने ।

 

 

कक्षा ४ मा पढ्ने आरिया गिरीले सामाजिक विकृतिका वारेमा चित्र वनाएकी छिन् । उनले फुर्सदको समयमा नयाँ कुरा सिक्न परियोजना कार्यले सजिलो वनाएको वताइन् ।

लामो समय विद्यालय वन्द हुने भएपछि विद्यार्थीहरुले घरमै वसेर केही न केही प्रोजेक्ट गर्न सकुन् भनेर विद्यालयले उनीहरुको प्रोजेक्ट वर्कको तालिका समेत वनाएको विद्यालयका शैक्षिक संयोजक रवि चापागाइले वताए । उनले विद्यार्थीको लेवल अनुसार प्रोजेक्ट वर्कको तालिका वनाएको पनि जानकारी दिए ।

“एक साताका लागि हामीले प्रोजेक्ट वर्क दिन्छौ र यो हरेक साता वदलिरहन्छ” संयोजक चापागाइले भने । परीक्षा सकिने वित्तिकै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने योजना वनाएको विद्यालयले लकडाउनका कारण स्थगित गरेको थियो । “अनलाईनबाट जति सकिन्छ सोही अनुसार विद्यार्थीहरुलाई सक्रिय वनाइरहेका छौ” उनले भने ।

विद्यालयका प्रवन्ध निर्देशक दिप वस्नेतले खाना, खेलकुद, सँस्कृति, साहित्य लगायत विविध क्षेत्रसँग सम्वन्धितका साथै सामाजिक विषयमा आधारित चित्रहरु वनाउन लगाइएको पनि वताए । “आउने साताबाट विद्यार्थीहरुले आफ्नो कामलाई भिडियो मार्फत देखाउने गरि तालिका वनाउने तयारी गरेका छौ” वस्नेतले जानकारी दिए ।

विद्यालयले विद्यार्थीहरुले पठाएका विभिन्न क्रियाकलापहरु विद्यालयको फेसवुक पेजबाट सार्वजनिक गर्ने गरेको छ । “कक्षाकोठामा एउटै कक्षाका विद्यार्थीले मात्रै देख्ने अवसर पाउँथे तर फेसवुकबाट भने सबैले थाहा पाउने गरेका छन् ।” प्रवन्धक वस्नेतले वताए ।

परियोजना कार्य राम्रोसँग गर्ने विद्यार्थीहरुलाई विद्यालय लागेपछि पुरस्कार दिएर प्रोत्साहित गरिने परियोजना कार्यका संयोजक सुनिल शर्माले जानकारी दिए । उनले विद्यार्थीहरुको निकै राम्रो सहभागिता रहेको पनि वताए ।

 

प्रतिक्रिया दिनुहोस