कोरोना संक्रमित वढिरहेको ५ नम्वर प्रदेशमा परिक्षण किट सकियो

बैशाख २२, २०७७

 

कोरोना संक्रमित वढिरहेको ५ नम्वर प्रदेशमा परिक्षण किट अभाव भएकाे छ ।

देश ५ मा कोरोना परीक्षण गर्न किट अभाव हुन थालेको छ ।  प्रदेशमा तीनवटा प्रयोगशाला सञ्चालनमा रहे पनि रुपन्देहीको भैरहवामा सञ्चालनमा ल्याइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावसँगै कोरोना परीक्षण रोकिएको छ ।
 

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशका अन्य प्रयोगशालाहरूमा पनि केही दिनलाई मात्रै पुग्ने किट रहेको बताए ।

समयमै किट नआए प्रदेशका अन्य ल्याबहरूमा समेत किट अभाव हुने चौधरीले बताए । प्रदेशमा रुपन्देही, दाङ र बाँकेमा प्रयोगशाला सञ्चालनमा रहेका छन् ।

प्रदेश जनस्वास्थ प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले आइतबार १० जनाको स्वाब परीक्षण गरिएको उल्लेख गर्दै अब थप परीक्षण गर्न किट अभाव भएको बताए । आइतबार परीक्षण गरिएका सबै रुपन्देहीका हुन् ।

रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका युवकको सम्पर्कमा आएका उनका दाइसँगै सम्पर्कमा रहेकाहरूको स्वाब परीक्षण गरिएको गिरीले बताए । ती संक्रमित युवालाई लिन गएका उनका दाजुसहित उनका परिवारका सदस्यहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको सम्पर्कमा रहेका अझै केहीको स्वाब परीक्षण गर्नुपर्ने भए पनि किट अभावले सम्भव नभएको गिरीले जानकारी दिए । रुपन्देहीमा गत २३ चैतबाट प्रयोगशाला सञ्चालनमा आएको हो । यस अवधिमा तीन सय ३७ जनाको स्वाब परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस