बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

बैशाख २१, २०७७

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेको छ।

नेकपा केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने गरी पार्टीले पहल अघि बढाउने निर्णय गरेको पत्रकारहरूलाई बताए।

सत्तारूढ नेकपाभित्र तीब्र बनेको शक्ति संघर्षकैबीच १७ वैशाखमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन पार्टीभित्रैबाट षडयन्त्र भएको भन्दै उनले आफूले प्रधानमन्त्री पद छाड्ने भए गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

गौतम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित उम्मेदवार हुन्।

नेकपा प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा आफूले गरेको प्रस्तावमा आफू अडिग रहेको भन्दै गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउन कुनै एक क्षेत्र खाली गराउनका लागि पहल गर्न बैठकमा आग्रह गरेका थिए।

१७ वैशाखको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न आग्रह गरेका थिए।

आजको बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्ति संघर्षलाई सहमतिका आधारमा टुंग्याउने निर्णयसमेत गरेको श्रेष्ठले बताए।

“बैठकले पार्टी एकतालाई कमजोर पार्ने, पार्टीलाई फुटउन्मुख गर्ने कुनैपनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय पनि गरको छ”, प्रवक्ता श्रेष्ठले भने।

नेकपाको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले यसबीचमा भएका निर्णय र घटनाक्रमका लागि आत्मालोचना गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए।

२५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकअघि २४ वैशाखमा सचिवालयको अर्को बैठक बस्नेसमेत उनले जानकारी दिए।

पार्टीको मार्गनिर्देशमा सरकार सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको नेकपा प्रवक्ता श्रेष्ठले बताए। सरकारदे देश र जनताको पक्षमा, समाजवादउन्मुख समृद्धि, आर्थिक-सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्नेगरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस