बम विस्फोटमा परेका बालिबालिकाको शव २४ घण्टा पछि उठ्यो

बम विस्फोट

बैशाख १, २०७७

बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिका-७ को जंगलमा बम विस्फोटमा ज्यान गुमाएका ४ बालबालिकाको शव करिब १९ घण्टापछि उठेको छ। घोराहीको रिपुमर्दन गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेपछि शुक्रबार करिब एक बजेतिर ती मृतक बालबालिकाको शव उठेको रोल्पा त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।

घट्नास्थल दुर्गम क्षेत्रमा भएको र उक्त क्षेत्रमा अर्काे पनि बम रहेको हुँदा शव उठाउन ढिलाइ भएको उनले बताए। शव उठाएपछि पोस्टमार्टमका लागि घोराही पठाइएको अध्यक्ष वलीले जानकारी दिएका छन्।

बिहीबार बेलुका ६ बजेतिर बाख्रा चराएर घर फर्किंदै गर्दा माइतेकापीना वनको दुब्ला खोलानजिकै बम बिस्फोटमा परी ती बालबालिकाले ज्यान गुमाएका थिए। ‘घट्नास्थलमा हिजो साँझ नै नेपाल प्रहरी पुगे पनि अर्काे बम रहेको हुँदा शव उठाउन सकिएको थिएन,’ रोल्पाका जिल्लाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले भने, ‘दाङबाट आएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेपछि शव उठाएर पोस्टमार्टमको लागि घोराही लगिँदैछ।’ हिजो साँझ शव उठ्न नसकेपछि रातभर प्रहरीले उक्त स्थानमा सुरक्षा दिएको थियो।

इलाका प्रहरी कार्यालय होलेरी, प्रहरी चौकी जुँगार र प्रहरी चौकी नुवागाउँबाट खटिएका प्रहरी टोलीले रातभर घटनास्थलको सुरक्षा गरेको जिल्ला प्रहरी प्रमुख गुरुङले जानकारी दिए। डिएसपी गुरुङका अनुसार बिहीबार नै बम डिस्पोज गर्नका लागि बिहान नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको थियो। बिहीबार रात परेको हुँदा डिस्पोज गर्न संम्भव नभएपछि शव उठाउन ढिलाइ भएको थियो।

बम विस्फोटमा परी त्रिवेणी गाउँपालिका-७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो। घट्नाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

माइतेकापीना जंगलमा २०६२ सालमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबीच भिडन्त भएको थियो। सोही समयमा ती बम माओवादीले छोडेको हुनसक्ने आशंका गरिएको छ। एउटै गाउँका चारजना बालबालिकाले ज्यान गुमाएपछि गाउँ नै शोकमा परेको छ।

प्रतिक्रिया दिनुहोस