एसईई र कक्षा ११-१२ को परीक्षा जेठ अन्तिममा गर्न सुझाव

बैशाख १, २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले स्थगित भएको एसईई तथा कक्षा ११ र १२ को परीक्षा लकडाउन खुलेको तीन हप्ताभित्र गर्न सुझाव दिएको छ।

२५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सुझाव प्राप्त भएको मन्त्री पोखरेलले  बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई प्रतिवेदन बुझाउँदै कार्यदलले जेठको अन्तिममा ती परीक्षा गर्न सुझाव दिएको हो।

उनका अनुसार भीडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने, आफ्नै घरमा खाना खाने गरी परीक्षा संचालन गर्न सकिने कार्यदलको सुझाव छ।

उच्च स्तरीय समितिमा प्रतिवेदन छलफल गराई मन्त्रिपरिषद्‍मा लगिने मन्त्री पोखरेलले जानकारी दिए।

एसईई परीक्षा प्रदेशस्तरीय हुने भएकाले प्रतिवेदन प्रदेश सरकारलाई समेत उपलब्ध गराइनेछ।

प्रतिवेदनमा २५ वैशाखभित्र कक्षा १-९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भीडभाड नहुने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ।

एसईई र कक्षा १२ को परीक्षा एउटै समयमा दुई सिफ्टमा गर्न पनि कार्यदलको सिफारिस छ।

परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको सुझाव छ।

प्रतिवेदनमा कक्षा ११ को परीक्षा भने केही समयपछि गर्दा पनि हुने सिफारिस गरिएको छ।

गत ६ चैतबाट हुने तय भएको एसईई परीक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्तिममा आएर स्थगित गरिएको थियो।

एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन्।

एक हजार ९९५ परीक्षा केन्द्र तोकिएकोमा अब केही परीक्षा केन्द्र घटाएर परीक्षा गर्न समितिले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस