रोल्पा विस्फोटमा ज्यान गुमाएका बालबालिकाको शव उठेन

बैशाख १, २०७७

दाङ – रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको बम डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली बिहान त्यस तर्फ गएको छ।

रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘हिजो बेलुका दहबनाट सेनाको टोली पुगेको थियो । तर, बम डिस्पोजल गर्न सकिएन । आज दाङबाट सेनाको टोली आउँदै छ । त्यहाँ बाट हिँडेको खबर छ’, प्रजिअ ढकालले भने, ‘म पनि घटनास्थल तर्फ जाँदै छु।’

रिपुमर्दन गणबाट सेनानी निमेष पन्थी को कमान्डमा नफ्रिमा विडी सहितको टोली रोल्पाको लागि निस्किएको छ ।

बेवारिसे बम बिष्फोट हुँदा बाख्रा ग्वाला गएका चार बालबालिकाको मृत्यु भएको छ । अहिले पनि घटना स्थलमा बिस्पोटक पदार्थ रहेकाले डिस्पोजल नगरीकन शव उठाउन सकिएको छैन ।

त्रिवेणि–७ निवासी ११ वर्षीया विमला केसी, उनका ५ वर्षीय भाइ विजय केसी, १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी–४ का १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको छ ।

घटनास्थल २०६२ सालमा तत्कालीन माओवादी र नेपाली सेनाबीच भएको भिडन्त स्थल रहेको खुल्न आएको छ । भिडन्तलाइ ‘दुम्ला भिडन्त’ भनेर चिन्ने गरिन्छ । त्यहाँ भेटिएको टुइन्च मोटरी बम भएको शंका गरिएको छ ।

तत्कालीन युद्धमा यो बम धेरै प्रयोग गरिएको पाइन्छ । तर, यति लामो समय सम्म बम निस्कृय हुनुपर्ने बताइएपनि यसको वास्तविकता खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस