कोरोना गन्थन

बैशाख ०१, २०७७

 

यो युद्ध कुनै व्यक्ति, संस्था वा देश विरुद्धको युद्ध होइन । यो राजनीतिक जय र पराजयको युद्ध होइन । यो लडाई सानो र ठूलोको बीचको वर्ग संघर्ष पनि होइन ।

लकडाउनको पट्यारलाग्दो बसाइलाई चाहेको भए सिर्जनात्मक बनाउन सकिन्थ्यो तर सकिएन र आखिर पट्यारलाग्दो भएरै बित्दैछ । यो समय मेरो दिमागमको सबैभन्दा चलायमान समय हो। तर, त्यसको कुनै ऐतिहासिक मूल्य छैन । त्यसलाई मैले न त कर्मले न त सिर्जनामा अभिलेखित गर्न सकेँ । आज लकडाउनको १८ औँ दिन म यो लेख्न बसिरहेको छु । मेरो दिमाग कुनै निश्चित लयमा आबद्ध छैन । यो फुक्काफाल यात्रा गर्दैछ । सोचाइका अनेक आयाम आउँछन् बिलाउँछन् । बेलाबेला मन समीक्षा र सम्भावनाको आँकलन गर्छ र धारणा निर्माण गर्छ । र, ती धारणा छिनभरमै स्खलित हुन्छन् किनकि सोचाइको ठोस स्वरुप छैन । त्यो निष्फिक्रि यात्रा गरिरहन्छ ।

संसार कोरोनाको भयले आक्रान्त छ । संसारभर दिनहुँ हजारौँ मान्छेको ज्यान गइरहेको छ । मृत्यु आफैमा एउटा पीडादायी क्षण हो र अझ यसरी अस्वाभाविक लयमा हुने मृत्युको गतिले मानिसलाई अझै पीडा दिँदोरहेछ ।  यही पीडामा सारा दुनियाँ शोकमग्न छ । मेरो मुलुक यो अस्वाभाविक पीडाबाट अलग छैन । सरकारले लकडाउन गरेको छ र मानिसहरु मृत्युको सम्भावित भयले आक्रान्त छन् ।

संसारका शक्तिसम्पन्न राष्ट्रहरु यो महायुद्धमा पराजित भइरहेको बेला मेरो मुलुक यो महायुद्धलाई जितेर कसरी सुरक्षित हुन सक्ला भन्ने संशय आम मान्छेमा छ । मुलुक पूर्ण रुपमा निद्रामा छ । निद्रा पनि यस्तो निद्रा जहाँ सन्त्रासका सपना मात्र देखिन्छन् । मानिस निसास्सिरहेका छन् । मान्छेको आवागमन बन्द भएको छ । उद्योग कलकारखाना बन्द छन् ।

शैक्षिक संस्था बन्द छन् । कार्यालयहरु बन्द छन् र समस्त राज्यसन्चालन संयन्त्र अवरुद्ध भएको छ । संसारभरका करिब एकतिहाई मान्छे हाम्रैजस्तो घरभित्रै जीवन जिइरहेका छन् । एउटा नदेखिने सानो विषाणुले मान्छेको जीवनलाई त्राहिमाम बनाएको छ । यस्तोबेला म पनि घरभित्रै छु र दिमागमा खिचडी पकाइरहेको छु ।

यसबीचमा केहि घटना घटे । जस्तो कि, लकडाउन भयो । वाह्य नाकाहरु र अन्तर्ष्ट्रिय उडानहरु बन्द गरिए । नेपालमै कोरोना भाइरस सङ्क्रमित बिरामी फेला परे । स्रोत साधनको अभावमा जेनतेन बाँचिरहेका स्वास्थ्य संस्थाहरु सम्भावित जोखिमको भयले त्रसित भए । स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अघि बढ्यो । सातै प्रदेशमा परीक्षणका लागि प्रयोगशाला स्थापना गरिए ।

सामग्री खरिदमा भ्रष्टाचार भएको चर्चा चल्यो । प्रक्रिया अवरुद्ध भयो । भारतमा काम गर्ने नेपालीहरु हुलका हुल नेपाल प्रवेश गरे । उनीहरुलाई क्वारेन्टाइनमा राखिएन । समुदायमा सहजै पुगे । ती मध्येका एकमा सङ्क्रमण पुष्टि भयो । सम्भावित सङ्क्रमणको आँकलन गर्न थालियो र मुलुक भयावह स्थितिमा पुग्छ कि भन्ने सन्त्रास व्याप्त भयो । यस बीचमा भारत तर्फका सबै नाकामा कडाई गरियो । नेपालीहरु सीमानामा अलपत्र परे ।

फेरि नेपालीहरुलाई आफ्नै मुलुक प्रवेश गर्न नदिएको भनी विरोधका स्वरुहरु गुञ्जिए । काठमाडौँमा अलपत्र परेकालाई २ दिन समय दिएर आआफ्नो जिल्ला फर्किन दिने भन्ने निर्णय सरकारले गर्यो र निर्णय गरेको २ घण्टा नहुँदै फिर्ता लिइयो । म मेरो कोठाभित्रै रहँदा यी घटनाहरु घटित भए । म मेरै स्वास्थ्यप्रतिको संवेदनशीलता र सरकारको आदेश बमोजिम एक आदर्श नागरिकका रुपमा बन्द कोठाभित्रबाट यी सबै घटनाक्रम नियालिरहेको छु ।

मेरो मानसपटलमा यी विषय त घुम्ने नै भए किनकि म यी समाचारहरुप्रति अपडेट छु । अलिक कामको चाप कम भएको छ र मुलुकको मूलभूत चासोको विषय पनि यही छ । अर्कातिर मेरो आफ्नै जीवनको लयपनि उचारचढावयुक्त छ । दिमागमा अनेकथरी भावहरु आउछन् बिलाउँछन् । म सोचिरहेको हुन्छु, सहरका सडकमा थाप्लोमा नाम्लो बोकेर दैनिकी चलाउनेको अभावको पीडा, दिनभर ज्यालामजदुरी गरी बेलुका चुल्होमा आगो बाल्नेहरुको पीडा, जसलाई सामान्य अवस्थामा जीवनको भारीले च्यापेर निसास्सिरहेको छ उसको आजको दैनिकीको पीडा ।

बाआमाले अक्षर चिनाए । बेलामा दुई चार अक्षर चिनेकोले सानतिनो जागिर गर्न पाएँ । बेलाबेला अलिअलि काटेपनि तलब आउँछ भन्ने विश्वास छ र त्यही विश्वासले जेनतेन बचाइरहेको छ । तर मेरो देशका आम मान्छेको त्यो विश्वासको आधार छैन । जीवन पीडादायी रुपममा गुज्रिरहेको छ । उनीहरुका निम्ति कोरोनाको भय भन्दा हजारौँ गुणा बढी भोकमरीको भय छ ।

अभावमा बाँचेकालाई सहयोग गर्नुको साटो लाखौँको गाडी चढेर राहत चाहियो भन्दै आन्दोलन गर्छौँ ।

सरकार भन्छ,’हामी हाम्रा नागरिकलाई भोकभोकै मर्न दिन्नौँ ।’ यता भोकमरीको त्रासमा टिल्पिलाएका आँखाहरु सामाजिक सञ्जालमा छाइरहन्छन् । ३० लाखको गाडी चढेर राहत थाप्न जानेहरु पनि देख्न पाइयो र ३ दिन पैदल हिंडेर ३ किलो चामल राहतका रुपमा लिने विपन्न नागरिकहरुको पीडा पनि यही देख्न पाइयो । यस्तो कुरुप दृश्य देख्दा कहिलेकाँही त यस्तो लाग्छ यो संसारको प्रलय हुन मात्र बाँकी छ ।

हाम्रो सञ्चयको स्वभावले बजारमा कृत्रिम अभाव व्याप्त छ । राज्यले लकडाउनको घोषणा गरेको छ र कोरानाले वाह्य संसारमा मुख बाएर बसेको छ भन्ने जान्दाजान्दै हामी लकडाउनको उलङ्घन गरी सडक चोकमा बरालिदै हिड्नुमा गौरव गर्छौँ । अभावमा बाँचेकालाई सहयोग गर्नुको साटो लाखौँको गाडी चढेर राहत चाहियो भन्दै आन्दोलन गर्छौँ ।

दिनरात नभनी हाम्रो स्वास्थ्यप्रति संवेदनशील हुँदै कर्तव्य पालना गर्दै गरेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग झगडा गर्छौँ । कपोलकल्पित र झुठा समाचार प्रकाशित गर्दै नागरिकका बीचमा सन्त्रास फैलाउछौँ । हामी पाइलापाइलामा खराब मात्रै देख्छौँ र शङ्का मात्रै गर्छौँ । ‘तपाइँहरुकै सुरक्षाको लागि हो, कृपया बाहिरबाट आउनेहरु कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नोस्’ भन्ने राज्यको आदेशको अवज्ञा गर्दै हामी गाउँ फर्केर भोज भतेर गर्दै हिड्छौँ, हुल बाँधेर घरघर डुली हिड्छौँ ।

अर्कातिर अभिभावकका रुपमा भूमिका निर्वाह गर्नु पर्ने सरकार स्वास्थ्य सामग्री खरिद गर्दा समेत भ्रष्टाचारमा मुछिन्छ । कुनै नागरिकलाई प्लेन चढाएर स्वदेश भित्र्याउँछ, कसैलाई सीमानामै अलपत्र छोड्छ । ‘आफ्ना नागरिकलाई भोकभोकै मर्न दिदैनौँ’ भन्छ,  भोकमा छटपटाइरहेका जनताका आँसुहरु हेरेर बस्छ । माहामारी देशमा भित्रिसक्दा पनि दैनिक २०/३० को सङ्ख्यामा परीक्षण गर्छ र कोरोना सङ्क्रमणको सङ्ख्या बढेको छैन भन्ने आत्मरतिमा रमाउँछ । प्रतिपक्ष यस्तो बेला पनि राजनीति गर्न खोज्छ र सरकार परिवर्तनको बेमौसमी बाजा बजाउँछ ।

यो चाहीँ सत्य होकि सरकार, जनता र प्रतिपक्ष सवैको एकमत र सामूहिक पहलबाट यो महायुद्धमा विजय प्राप्त गर्न सकिन्छ ।

यो युद्ध कुनै व्यक्ति, संस्था वा देश विरुद्धको युद्ध होइन । यो राजनीतिक जय र पराजयको युद्ध होइन । यो लडाई सानो र ठूलोको बीचको वर्ग संघर्ष पनि होइन । यो लडाइँमा शक्तिसम्पन्न भनिएका राष्ट्रहरु समेत पराजित भइसकेका छन् । जसले वर्षौँ वर्ष परमाणु हतियारको संग्रह गरी बसे तिनीहरु समेत आज आकाशतिर फर्किएर ‘भगवान हामीलाई यो आपत् बाट बचाऊँ’ भन्दै प्रार्थना गरिरहेका छन् ।

उनीहरुको आँखाको आँसुले संसारलाई नै द्रविभूत बनाइरहेको छ । यस्तो अवस्थामा अब हामी आपसी द्वन्द्व, मनमुटाव, स्वार्थ, लोभ र मोहमा जेलिदै गयौँ र कर्तव्यबाट बिमुख हुँदै गयौँ भने कुनैदिन आफू र आफ्ना परिवारका सदस्यको लास गाड्नका लागि ६ फुट जमिनसमेत प्राप्त हुने छैन र लासलाई काँध हाल्ने मलामी पनि कोही हुने छैन । म अहिले यो भयावह स्थितिको परिकल्पना गर्न चाहन्न । यो चाहीँ सत्य होकि सरकार, जनता र प्रतिपक्ष सवैको एकमत र सामूहिक पहलबाट यो महायुद्धमा विजय प्राप्त गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस