तस्कर जोगाउन प्रहरीको “शंकास्पद” मौनता

सम्पादकीय

चैत ३०, २०७६

प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ भन्ने हल्लालाई गलत सावित गर्नका लागि प्रहरीलाई यो निकै सुनौलो अवसर हो । अहिले पनि प्रहरी चुक्यो भने साँच्चिकै जनताले कसैबाट असुरक्षित महसुस गर्नेछन् भने त्यो प्रहरीबाटै गर्नेछन् ।

शुक्रवार राती लकडाउनको फाइदा उठाउदै नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने समुहलाई पक्राउ गर्नका लागि वटोलपुरका गाउँलेहरुले प्रहरीलाई फोन गरे । तर फोन गर्ने वित्तिकै उत्खननकर्ताहरु चनाखो भएर काम गर्न थाले ।

गाउँलेहरुले प्रहरी आउने बाटो कुरेर बसे तर फोन गरेको दुइघण्टा वित्दा पनि दुइ किलोमिटर पारिको पोष्टबाट प्रहरी आएन । गाउँलेहरु ज्यानको वाजी थापेर हुल वाँध्दै उत्खनन् गरिरहेको ठाउँमा पुगे । सामान्य भनाभन भयो । उत्खननकर्ताहरुले ज्यानको समेत धम्की दिएर गाडी छाडेर हिडे ।

प्रहरी उनीहरु हिडेपछि आयो । गाडी अर्को गाउँमा रहे । उत्खननकर्ताहरु सकुशल त्यहाँबाट अवतरण भए । रँगेहात पक्राउ गरेको प्रहरीले गाडी नम्वरका आधारमा सहजै पत्ता लगाउन सकिने कुरामा अझै पनि आलटाल गरिरहेको छ ।

पत्रकारहरुले घटनाका बारेमा फोन गर्दा जिम्मेवार निकायका अधिकारी चारघण्टासम्म “टेवल टेनिस” मात्रै खेलिरहेको जवाफ आएको छ । स्थानीयका अनुसार प्रहरीले रंगेहात पक्राउ गरेको भएपनि आधिकारीक रुपमा अझैसम्म सार्वजनिक गर्न “लालच” गरिरहेको छ । कति वटा गाडी हाे , कुन कुन हाे , जनताकाे हातमा  लिष्ट छ तर प्रहरीसँग छैन ।

आइडी कार्ड नक्कली वोकेको कुरालाई पहाडै फोरे जसरी “प्रेस रिलिज” गर्ने प्रहरीले नदीजन्य पदार्थ तस्करी भएको घटनाको ४० घण्टा हुन लाग्दासम्म पनि मौनता साँधेको छ । यसबाट प्रहरी मेरो साथी भन्ने नाराले सायद आत्मग्लानी महसुस गरिरहेको होला । जिम्मेवार प्रहरीहरु कहिलेसम्म मौनता साँधेर “टेबल टेनिस” खेल्छन् जनता व्यग्रतासाथ प्रतिक्षा गरिरहेका छन् ।

स्थानीय जनताहरु अहिले  अज्ञात समुहबाट धम्की आयो भनेर पत्रकारलाई खबर गरिरहेका छन् । प्रहरीलाई खवर गरे धम्कीको मात्रा वढ्ने विगतका कारण उनीहरु अहिले पनि प्रहरी कहाँ जान मानिरहेका छैनन् । उनीहरुसँग धम्की आउने नम्वर छन्, धम्काउने मानिसका हुलिया छन्, तर प्रहरी टेबल टेनिस खेलिरहेको छ ।

“दुइ महिना अगाडि पनि यसै गरी उत्खनन् हुँदा प्रहरीलाई फोन गरेको अर्को दिन उत्खनन् गर्नेले फोन गरेर थर्कायो, कसले दियो त नम्वर ?” स्थानीयसँग यो भन्दा पनि अझ तिता अनुभव छन् ।

अहिले पनि उचित कदम चाल्न सकिएन भने तस्करीको सञ्जाल फैलिएर जाने देखिन्छ ।

शुक्रवारको उत्खनन् लफडा पश्चात तुलसीपुर उपमहानगरपालिकाले उक्त ठाउँमा प्राविधिक सहित अनुगमन गर्दा करिव २० हजार घनमिटर उत्खनन् भएको पाइयो । जसको सामान्य मुल्य जोड्दा पनि ४० लाख वरावर हुन्छ । पैसाको कुरा एकातिर होला मुख्य कुरा वस्तिको जोखिम र अवैध धन्दा नै हो ।

वातावरणीय प्रभाव मुल्यांकन नै नभएको ठाउँमा करिव ४ मिटर गहिराइसम्म खन्दा त्यसले नजिकैको वस्तिलाई कस्तो असर गर्छ ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसो त चोर्नेहरुलाई वस्ति असुरक्षाको चिन्ता हुने कुरै भएन तर प्रहरीले त यसमा ध्यान दिनुपर्ने हो ।

लामो समयदेखि तस्कर हुँदै आएको ठाउँमा जनताको जोडबलले तस्करहरु पक्राउ पर्ने वलियो सम्भावना देखिएको छ । अहिले पनि उचित कदम चाल्न सकिएन भने तस्करीको सञ्जाल फैलिएर जाने देखिन्छ । पक्राउ परेका बाँहेक अन्य दुइवटा डोजर पनि त्यहाँ लागेको देखिन्छ । प्रहरीले सोधखोज गरेर यसकुरालाई तत्काल पत्ता लगाउन सक्छ ।

यस्तो वेलामा कसैले पनि घटनालाई राजनीतिक या पैसाको रङ्ग दिन खोज्यो भने यो भन्दा विडम्वनापूर्ण अवस्था केही हुने छैन । अधिकांश तस्करीका कुरा राजनीतिक नेतृत्वको घाँटीसम्म जोडिएका केयौ उदाहरण छन् यसपटक यस्तो नहोस् ।

प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ भन्ने हल्लालाई गलत सावित गर्नका लागि प्रहरीलाई यो निकै सुनौलो अवसर हो । अहिले पनि प्रहरी चुक्यो भने साँच्चिकै जनताले कसैबाट असुरक्षित महसुस गर्नेछन् भने त्यो प्रहरीबाटै गर्नेछन् ।

घटनाको सार्वजनिक गर्न मुटु कमाउने प्रहरीसँग कारबाहीका लागि सिफारिस गर्ने आँट छ कि छैन ? स्थानीय सरकारले सडक वनाउन कानुन अनुसार नदीजन्य पदार्थ उठाउँदा अनेक वखेडा झिक्ने प्रहरीले तस्करी गरेको पुरै प्रमाण वाहिर आउँदा के गर्छ ? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस