भिड राेक्ने उत्तम विकल्पः मोबाईल पसल र होमडेलिभरी

अभिमत

चैत ३०, २०७६

होमडेलिभरीको माध्यमबाट पनि दैनिक उपभोग्य वस्तुहरु घरदैलोमा पुर्याउन सकिन्छ । तरकारी र खाद्यान्न बिक्रेतालाई सम्पर्क गरेर उपभोक्ताहरुले सामान अर्डर गर्न सक्छन् । ग्राहकहरुको अर्डर अनुसार बिक्रेताले सेल्सम्यानको माध्यमबाट घर घरमा सामान पुर्याउन सक्छन् । सूचना प्रविधिको यो जमानामा मोबाइल एप्लिकेसन्स मार्फत सामान खरिद गर्न सकिन्छ ।

 

२०६२/०६३ सालको आन्दोलन मलाई अझै याद छ । आन्दोलन जारी थियो । एक दिन आन्दोलनको लागि नाराजुलुस सहित मानपुरबाट विजौरी हुँदै तुल्सीपुर जाने क्रममा हाम्रो जुलुस राजापुरमा एउटा जुलुससँग मिसिन पुग्यो । नाराजुलुस चलिरहेको थियो ।

एक जना वृद्ध हजुरबुवाले मलाई सोध्नुभयो “बाबु कहाँबाट आउनुभएको हो ?” मैले जवाफ दिए “मानपुरबाट ” वृद्ध हजुरबुवाले फेरी सोध्नुभयो “बावु एउटा कुरा भन्छु है ?” मैले “हुन्छ” भने ।

हजुरबुवाले भन्नुभयो “अहिले हामी सबै आन्दोलनमा होमिएका छौ, हेर्नुहोला आन्दोलन सफल भएपछि हामी सबै छाडा हुन्छौ ।” अनि मैले अचम्म मान्दै सोधिहाले“ किन हजुरबुवा हामी छाडा हुन्छौ ?” मेरो जवाफमा उहा“ले भन्नुभयो “हामी डर त्रासमा काम गर्ने बानी छ । कसैले लट्ठी देखाएर यो काम गर्ने भए गर, नत्र लट्ठीले हान्छु भन्यो भने काम गर्ने बानी छ । अब आन्दोलन सफल भयो भने जनताले सरकारको नीति नियम कतिको पालन गर्छन् । मलाई त शंका नै छ” ।

यो प्रसंग अहिलेको लकडाउनसँग मेल खाएको जस्तो आभाष भएको छ । देश लकडाउनमा छ तर हामी सुरक्षाकर्मीहरुको आँखा छलेर हिडिरहेका हुन्छौ । कोरोनाको महामारी नियन्त्रण भईसकेको जस्तो गरेर हामी निर्धक्क भएर घुमिरहेका हुन्छौ । सरकारको नीति नियमलाई अटेर गरिरहेका छौ । कुनैबेला नेपाल बन्द भयो भने साँझ पाँच बजे खुल्ने चलन थियो । तर अहिलेको बन्द कुनै दलले नेपाल बन्द गरेको जस्तो बन्द होईन । हामी निर्धक्क भएर गाउँघर र बजार डुल्ने अवस्था छैन ।

लकडाउन कार्यान्वयन गर्ने भनेको आम नागरिकले नै हो । के लकडाउन पालन गर्न सुरक्षाकर्मीले लट्ठी नै प्रयोग गर्नुपर्ने अवस्था हो ? सुरक्षाकर्मीको डर त्रास नै चाहिने हो ? के हामी सरकारको नीति नियम नै नमान्ने अवस्थामा पुगेको हौ ? लकडाउन हाम्रो लागि होईन र ? सोचनीय विषय छ ।

यो समय असल नागरिकको परिचय दिने समय हो । यो समय आत्मअनुशासित भएर लकडाउनको पुर्ण पालना गर्ने समय हो । लकडाउनले गर्दा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नियन्त्रणमा छ । लकडाउन अझै लम्बिन सक्ने संकेत छ । विश्व स्वास्थ्य संगठनले अहिले विश्वभर सामाजिक दुरी कायम राख्न गरिएका प्रयासहरु छिट्टै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरसका संक्रमित संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरु पनि लकडाउन लम्ब्याउने पक्षमा छन् ।

लकडाउनले गर्दा मानिसको दैनिक जीवन प्रभावित भईरहेको छ । स्थानीय निकायहरुले खाद्यान्न, तरकारी लगाएत अन्य उपभोग्य वस्तुहरुको आपुर्तिमा सहजताको लागि विभिन्न अभ्यासहरु गरिरहेका छन् । स्थानीय निकायहरुले पहिलो अभ्यासको रुपमा निश्चित समय तोकेर हप्तामा तीन दिन बजार खुल्ला गरेका थिए । अहिले त्यो पनि दैनिकमा रुपानतरण भएको छ । तर प्रभावकारी हुन सकिरहेको थिएन । बजार खुलेको दिन बजारमा मानिसहरुको भीडभाड अत्याधिक देखिएको थियो । यो अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनले सशक्त तरीकाले अनुगमन गर्न सकेनन् ।

 प्रत्येक वडामा मोवाईल भ्यान र अटो प्रयोग गरेर प्रत्येक दिन एक दुई दिन विराएर पालैपालो प्रत्येक वडामा तरकारी र खाद्यान्न लगाएत अन्य दैनिक उपभोग्य वस्तुहरु घरदैलोमा पुर्याउन सकिन्छ ।

सामान्य अवस्थामा जस्तै उपभोक्ताहरुले कुनै पनि सुरक्षा अवस्था नअपनाएर भिडभाडमा नै सामान किनिरहेका थिए । सामाजिक दुरी कायम भएको थिएन । लकडाउनको मुख्य उदेश्य नै सामाजिक दुरी कायम राखेर एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन नदिनु हो । यो अभ्यासले संक्रमण फैलिने सम्भावना धेरै देखिएको थियो । अब अर्को विकल्पको रुपमा स्थानीय निकायहरुले प्रत्येक दिन निश्चित समय तोकेर बजार खुकुलो गर्ने निर्णय गरेका छन । तर यो पनि व्यवाहारिक देखिदैन ।

दैनिक उपभोग्य सामान खरीद गर्ने नाममा बजारमा भीडभाड हुने सम्भावना झन धेरै हुनसक्छ । लकडाउनको समयमा त खुलमखुल्ला हिड्न खोज्ने हाम्रो प्रवृति छ भने दैनिक बजार खुल्ला गर्दा के स्थिति होला ? अब अन्तिम विकल्पको रुपमा मोबाईल पसल र होमडेलिभरीको माध्यमबाट दैनिक उपभोग्य वस्तुहरु उपभोक्ताहरुको घरदैलोमा पुर्याउन सकिन्छ ।

प्रत्येक दिन र हप्तामा बजार खोल्नुभन्दा घुम्ती पसल उत्तम विकल्प हो । प्रत्येक वडामा मोवाईल भ्यान र अटो प्रयोग गरेर प्रत्येक दिन एक दुई दिन विराएर पालैपालो प्रत्येक वडामा तरकारी र खाद्यान्न लगाएत अन्य दैनिक उपभोग्य वस्तुहरु घरदैलोमा पुर्याउन सकिन्छ । प्रत्येक वडामा भ्यान वा अटो आउने समय तोकेर जनतालाई जानकारी दिन सकिन्छ । गाउँघरतिर बजारको तुलनामा खाद्यान्नभन्दा पनि तरकारी र फलफुलको उपभोग धेरै हुनसक्छ । मोबाईल पसल बिक्रेता वा सेल्सम्यानले मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्छ साथै उपभोक्ताले पनि मास्क र सामाजिक दुरी कायम गर्नुपर्छ ।

होमडेलिभरीको माध्यमबाट पनि दैनिक उपभोग्य वस्तुहरु घरदैलोमा पुर्याउन सकिन्छ । तरकारी र खाद्यान्न बिक्रेतालाई सम्पर्क गरेर उपभोक्ताहरुले सामान अर्डर गर्न सक्छन् । ग्राहकहरुको अर्डर अनुसार बिक्रेताले सेल्सम्यानको माध्यमबाट घर घरमा सामान पुर्याउन सक्छन् । सूचना प्रविधिको यो जमानामा मोबाइल एप्लिकेसन्स मार्फत सामान खरिद गर्न सकिन्छ ।   होमडेलिभरी गर्दा बिक्रेता र उपभोक्ताले पनि अनिवार्य रुपमा सुरक्षाका सबै संसाधनहरु अपनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस