देशका ७७ वटै जिल्लामा र्‍यापिड डायग्‍नोस्टिक परीक्षण

चैत २, २०७६

खबरशाला संवाददाता

काठमाडौं। कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले देशका ७७ वटै जिल्लामा र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) शुरू गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाहरूमा कीटको माध्यमबाट परीक्षण थालिएको जनाएको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडीटी सबै स्थानमा भइरहेको जानकारी दिए।

“क्वारेन्टाइनमा बसेका सबैको नमूना परीक्षण गर्ने सरकारको तयारी छ”, डा. देवकोटाले भने, “विभिन्न स्थानमा प्रयोगशाला राखेर काम भइरहेको छ भने अझै ५-६ वटा स्थानमा मेसिन जडान भइरहेको छ।”

उनले मेसिन जडानको कामसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटीबाट परीक्षणको दायरा द्रुत बनाएको बताए। आजसम्म देशैभर चार हजार ४२६ जनाकाे नमूना परीक्षण गरिएको छ।

२४ घण्टामा ८५७ नमूना परीक्षण भइरहेका छन्। मन्त्रालयले पछिल्लो एकसाताको परीक्षणका क्रममा नयाँ संक्रमित नभेटिएको जनाएको छ। दैनिक ८०० का दरले अहिले नमूना परीक्षण भइरहेको छ।

“समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर अहिले परीक्षणको दायरा बढाइएको हो”, प्रवक्ता डा. देवकोटाले भने, “सर्वसाधारणले पनि लकडाउनको पालना गरेर सहयोग गरे जोखिमबाट बच्न सहज हुन्छ।”

प्रतिक्रिया दिनुहोस