देशभर यी १० स्थानमा हुन्छ कोरोना परीक्षण

चैत २८, २०७६

काठमाडौं- सरकारले देशभरका १० स्थानमा कोरोना भाइरस(कोभिड१९)को ल्याब परिक्षण सेवा सुरु गरेको छ।

ती दश स्थानमा बिहीबार मात्र आज ५ सय २९ जनाको प्रयोगशाला परीक्षण भएको छ। हालसम्म देशभर कोभिड१९को आंशकामा २ हजार ८ सय ९५ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

बिहीबार मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ सय १७, जनकपुर प्रादेशिक अस्पतालमा ४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६१, सुर्खेत प्रादेशिक अस्पतालमा १२, सेती प्रादेशिक अस्पतालमा ७ र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा १४ जनाको प्रयोगशालामा परीक्षण गरिएको छ।

त्यसैगरि, धुलिखेल अस्पतालमा ९, राष्ट्रिय गहुँबाली अन्सन्धान केन्द्र भैरहवामा ५ जनाको कोभिड१९को प्रयोगशाला परीक्षण गरिएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर कोभिड१९ प्रयोगशालामा बिहीबार दिउसो साढे दुई बजेसम्म नयाँ व्यक्तिको प्रयोगशाला परिक्षण भएको छैन।

हालसम्म नेपालमा ९ जना व्यक्तिमा कोभिड१९को संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भइसकेका छन् भने अन्य ८ जनाको उपचार भइरहको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार उपचाररत ८ जनाकै स्वास्थ्य सामान्य रहेको छ।

सरकारले सुदुरपश्चिम प्रदेशमा एकैदिन तीन जना संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउने भन्दै प्रदेशका जिल्लाबाट स्वाबको नमुना संकलन गरिरहेको छ।

पहिलो पटक कोभिड१९ धनगढीकी स्थानीय महिलामा देखिएपछि संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले ती जिल्लामा मास टेष्ट गर्ने निर्णय गरेको थियो।

बुधबारदेखि सरकारले सुदुरपश्चिम प्रदेशका डडेलधुराको अमरगढीबाट ८१ र जोगबुढामा ११८ जनाको स्वाब संकलन गरेको छ। बैतडीको पुचौलीमा ३४३, पञ्चेश्वरमा ८२ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इपिडिमियोलाजि तथा रोग नियन्त्रण महाशाखाबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले ती स्थानबाट स्वाब संकलन गरिरहेको छ।

कर्णाली प्रदेशअन्र्तगतबाट खटिएका स्वास्थ्यकर्मीले सो प्रदेशबाट ८५ जनाको स्वाब संकलन गरेका छन्।

स्वास्थ्य मन्त्रालयले कैलाली र कन्चनपुरमा र्‍यापिड डायनोष्टिक टेष्ट सुरु भएको जनाएको छ। शुक्रबार डोटी, अछाम र बाजुरा र शनिबार बैतडी, बझाङ र दार्चुलामा र्‍यापिड डायनोष्टिक टेष्ट सुरु गर्ने जानकारी दिएको छ।

कुन प्रयोगशालामा कतिको परीक्षण

हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार ३ सय ८२, जनकपुर प्रादेशिक अस्पतालमा ८३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३५, सुर्खेत प्रादेशिक अस्पतालमा ८३, सेती प्रादेशिक अस्पतालमा ३३ र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा ६५ जनाको प्रयोशशालामा परीक्षण गरिएको छ। त्यसैगरि, धुलिखेल अस्पतालमा २६, राष्ट्रिय गहुँबाली अन्सन्धान केन्द्र भैरहवामा ३३ जनाको कोभिड१९को प्रयोगशाला परीक्षण गरिएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८३ र भरतपुर कोभिड१९ डायनोष्टिक प्रयोगशालामा ३३ जनाको प्रयोगशाला परिक्षण गरिएको छ।

प्रदेशहरुले  स्वाब संक्रलन गर्न टेष्टिङ कीटको अभाव, स्वाब संकलन गर्न जाने मेडिकल टीम र संकलनमा खटिदा चाहिने व्यक्तिगत सुरक्षा कवच (पीपीई) को कमी भएकोले स्वाब संकलन र परीक्षणमा ढिलाइ भएको बताएका छन्। टेष्टिङ मेसिनको सिमित क्षमताका कारणले अपेक्षित संख्या परीक्षण गर्न नसकिएको उनीहरुले मन्त्रालयमा खबर गरेको बताइएको छ।

बिहीबार मात्र सुदुरपश्चिम प्रदेशका  डडेलधुरा र बैतडीमा संकलन गरेको ६२४स्वाबको नमुना नेपाली सेनाको स्काई ट्रक र कर्णाली प्रदेशबाट संकलन भएको ८५ जनाको स्वावको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको गाडीबाट काडमाडौं आउँदै गरेको जानकारी दिएको छ।

कुन प्रदेशमा कति परीक्षण?
प्रदेश १ मा १०३ जनाको परीक्षण भइसकेको छ भने ४२ जनाको परीक्षण भइरहेको छ। प्रदेश २ मा १४० जनाको मध्ये ११३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २७ जनाको परीक्षण भइरहेको छ।

बागमती प्रदेशमा २८१ जनाको परीक्षण भइरहेको छ भने ३७४ जना व्यक्तिको परिक्षण भइसकेको छ। गण्डकी प्रदेशमा २५९ जनामध्ये २ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ भने १३५ जनाकोे परीक्षण रिर्पोट नेगेटिभ आएको छ। १२२ जनाको परिक्षण भइरहेको छ।

प्रदेश ५ मा १५२ मध्ये १२५ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ भने २७ जनाको नमुना परीक्षण भइरहेको छ।

कर्णाली प्रदेशमा १०४ जनाको नमुना परीक्षण गर्दा नेगेटिभ आएको छ भने ८५ जनाको नमुना परीक्षणका लागि काठमाडौं ल्याइदै छ। र सुदुरपश्चिम प्रदेशमा १ हजार २ सय २५ जनाको नमुना संकलन गरिएको छ। जहाँ ४ जनामा संक्रमण देखिएको छ। ३ जना बाहिरबाट आएका र एक जना स्थानीयमा संक्रमण देखिएपछि उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सुदूरपश्चिम प्रदेशमा १८० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने ८१७ जनाको परीक्षण भइरहेको छ। बिहीबार संकलन गरिएको ६२४ नमुना परीक्षणका लागि काठमाडौं ल्याइदै छ।

प्रतिक्रिया दिनुहोस