तुलसीपुरको क्वारेन्टाइनबाट विदा भए ५ जना

चैत २८, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले वनाएको क्वारेन्टाइनमा वस्दै आएका ५ जना विदा भएका छन् । दुबइबाट आएका उनीहरुको स्वाब परिक्षण गर्दा नेगेटिभ आउनुका साथै नेपाल आएको २१ दिन भइसकेकाले विदाई गरिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

“उहाँहरुलाई क्वारेन्टाइनबाट विदाई गरेपनि १२ दिन घरमै क्वारेन्टाइनमा वस्ने भनेका छौ” केसीले भने । उनले स्थानीय स्वास्थ्यकर्मीबाट सबैजनाको नियमित स्वास्थ्य जाँच हुने र निगरानीमा रहने समेत जानकारी दिए ।

क्वारेन्टाइनमा रहेर नेगेटिभ रिपोर्ट आउनेहरुमा तुलसीपुर १४ ड्वाङ्गपुरका राजिव चौधरी, रामवहादुर सार्की र गंगाराम चौधरी, वडा नम्वर ६ का इश्वरी गैरै र वडा नम्वर ५ का नरेश दमाइ रहेका छन् । उनीहरुमध्ये चारैजना दुवइबाट आएका हुन् भने नरेश दमाइ नेपालमै रहेपनि राजिब चौधरीसँग रहेकाले क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखेर ढुक्क हुने अवस्था सृजना गरेकोमा सबैले उपमहानगरपालिकालाई धन्यवाद दिएका थिए । उनीहरुले तोकेको समयमा घरमै वसेर सहयोग गर्ने समेत वताए ।

विदाई गर्दै उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोनाको प्रकोपका कारण क्वारेन्टाइनमा राख्नुपरेको वताउँदै कुनै पनि समस्या भएका स्थानीय सरकार समक्ष राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस