दाङमा फोनबाटै निशुल्क विशेषज्ञ सेवा दिइने

चैत २८, २०७६

 

खबरशाला संवाददाता

तुलसीपुर । नेपाल चिकित्सक संघ दाङ्गले लकडाउनकाे समयमा कुनै पनि स्वास्थ्य समस्याको फोनबाटै विशेषज्ञ डाक्टरले समाधान गर्ने जनाएको छ । संघले शुक्रवार सूचना प्रकाशित गरेर विभिन्न विशेषज्ञ डाक्टरहरुको नाम र सम्पर्क नम्वर सार्वजनिक गरेको हो । लकडाउनको समयमा अतिआवश्यक काम बाहेक बाहिर निस्कन नमिल्ने भएकाले फोनबाटै सामान्य खालका विरामीलाई चेकजाँच गर्न सकियोस् भनेर यस्तो सेवा दिन लागिएको संघले जानकारी दिएको हाे । शुक्रवारबाटै यस्तो सेवा आरम्भ भएको छ ।

जनरल सर्जन, बालरोग, दाँत तथा मुख रोग, हाड तथा नशा रोग, प्रसुति तथा स्त्री रोग लगायतका विभिन्न रोगका विरामीहरु वाहिर निस्कन नसकेको अवस्थामा डाक्टरलाई सोधेर विशेषज्ञ सेवा लिन सक्ने सचिव डा. विपि भुषालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । संघका अनुसार तत्कालका लागि १७ जना डाक्टरको नाम सार्वजनिक गरिएको छ ।

जटिल प्रकृतिको वाहेक अन्यमा अस्पताल जान नमिल्ने भएकाले फोनबाटै सेवा दिन लागिएको पनि वताइएको छ । फोनबाट सेवा लिए बाफत कुनै पनि खालको शुल्क भने लाग्ने छैन ।

विशेषज्ञ सेवा लिन आवश्यक व्यक्तिले सार्वजनिक गरिएको डाक्टरलाई सम्वन्धित नम्वरमा फोन गर्न सक्ने पनि भुषालले उल्लेख गरेका छन् ।
जुनसुकै खालको समस्या आएपनि समाधान गर्नका लागि आफु तयार रहेको बालरोग विशेषज्ञ किशोर खत्रीले जानकारी दिए ।

उनले बालरोगका वारेमा फोनबाट आवश्यक सुझाव दिएपनि आपतकालिन अवस्थामा अस्पताल मै चेकजाँच गर्ने पनि वताए । शुक्रवार नै उनलाई रोल्पाबाट शिशुकाे बारेमा फोन आएको वताए । “जन्मेको ३ दिनसम्म पनि पिसाव नआएको शिशुको समस्या आएको थियो, समाधान गरिदिए” डा. खत्रीले वताए ।

प्रतिक्रिया दिनुहोस