तुलसीपुरमा सुत्केरीलाई घरमै अण्डा उपहार

चैत २७, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएकाहरुलाई पोषणका लागि अण्डा वितरण गरिरहेको छ । सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यस्तो कार्यक्रम अगाडि वढाइएको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

उनले १९ वटै वडामा यो अवधिमा सुत्केरी भएका सबैलाई एक क्यारेट अण्डा वितरण गरिने पनि वताए । “सुत्केरी महिलाहरुको स्वस्थ्य राम्रो भयो भने मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको हो ” नगरप्रमुख पाण्डेले वताए ।

तुलसीपुुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी भत्ता समेत वितरण गर्दै आएको छ । सुत्केरी भत्ता वितरण मार्फत अनिवार्य रुपमा स्वास्थ्य चेकजाँच गर्ने वानीको विकास गरेपछि गतवर्ष उपमहानगरपालिका भित्र मातृशिशु मृत्युदर शुन्य भएको पनि नगरप्रमुख पाण्डेले जानकारी दिए ।

उपमहानगरपालिका भित्रका १९ वटै वडामा स्वास्थ्यकर्मी मार्फत अण्डा वितरणको काम अगाडि वढेको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए । उनले सबै वडामा गरेर १ सय जति सुत्केरी भएको पनि जानकारी दिए ।

स्वास्थ्यकर्मी मार्फत एक साता भित्र सबै सुत्केरीहरुलाई अण्डा वितरण गरिने भएको पनि उनले वताए । “वडा नम्वर ४,७ र ११ मा वितरण गरियो अरुमा पनि तत्काल वितरण गरिनेछ” केसीले भने । उनले सुत्केरीको स्वास्थ्य परिक्षण गर्नुका साथै साबुन समेत दिइएको वताए । “लकडाउनको समयमा सुत्केरी वाहिर ननिस्कने भएकाले स्वास्थ्य जाँच पनि गरेका छौ” उनले भने ।

यो अवधिमा सुत्केरी भएकाहरु कोही छुटेको भए वडा कार्यालय या स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।
घरमै स्वास्थ्य जाँच हुनुका साथै अण्डा पनि उपहारमा पाएपछि सुत्केरीहरुले खुसी व्यक्त गरेका छन् ।

वडा नम्वर ७ की लक्ष्मी केसीले घरमै आएर उपचार गर्नुका साथै अण्डा र सावुन समेत पाएपछि खुसी व्यक्त गरिन् । “हामीलाई निकै खुसी लागेको छ वच्चा र आफ्नो स्वास्थ्य पनि जँचाउन पाइयो अनि अणड पनि ” उनले भनिन् । अण्डामा सुत्केरीका लागि चाहिने पोषणयुक्त तत्व पाइने भएको भन्दै वितरण गरिएको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस