लकडाउनले सबैतिर “डिजिटल मिटिङ्ग”

चैत २६, २०७६

 

प्रदेश सरकार, उपमहानगरपालिका, तुलसीपुर जेसिज, संवाद समुह लगायतले डिजिटल मिटिङ गरेर  यो संकटको घडीमा महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

खबरशाला संवाददाता

तुलसीपुर । कोरोना संक्रमणको प्रकोप वढ्दै जाँदा सरकारले लकडाउन घोषणा गर्यो । तर संक्रमणको प्रकोपका वारेमा स्वास्थ्य सम्वन्धि विभिन्न निर्णय र विपन्न वर्गका जनतालाई राहत प्रदान गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले विशेष वैठक गर्नुपर्ने भयो । सरकारले सामुहिक वैठक त परको कुरा दुइ जनाका विचमा पनि सामाजिक दुरी कायम गर्न निर्देश गरेको थियो ।

नगरप्रमुख घनश्याम पाण्डेले नयाँ विकल्प निकाले “म्यासेन्जरमा ग्रुप वनाएर सबै कार्यपालिका सदस्यलाई जोड्ने अनि डिजिटल मिटिङ्ग गर्ने” उनले भनेजस्तै लकडाउन लगत्तै चैत्र १६ गते डिजिटल रुपमा कार्यपालिकाको वैठक वस्यो । “नेपालको इतिहास मै त्यो पहिलो डिजिटल कार्यपालिका मिडिङ्ग थियो” उनले दावी गरे ।

वैठकले ५० लाखको कोरोना विपद् कोष वनाउने र वडामा वडाध्यक्षकै संयोजकत्वमा कोरोना व्यवस्थापन समिति वनाएर स्वास्थ्यका साथै राहत वितरणको काम अगाडि वढाउने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताए । “समयमै वैठक वस्न सकेकाले हामीलाई काम गर्न सजिलो भयो ” प्रवक्ता डाँगीले भने । उनले डिजिटल मिटिङ्ग कै कारण समयमै कोरोना सम्वन्धि गतिविधि अगाडि वढाउन सकिएको समेत वताए ।

प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले चैत्र १७ गतेका दिन ४ वटा उपमहानगरपालिकाका नगरप्रमुखसँग भिडियोबाट मिटिङ्ग गरेर जानकारी लिए । आइसोलेसन वार्ड स्थापनाका साथै कोरोना विपद् व्यवस्थापनका बारेमा त्यसले निकै महत्वपूर्ण निर्णय गर्यो । अचेल डिजिटलहरुमै मुख्यमन्त्री पोख्रेलले विभिन्न स्थानीय तहका प्रमुखहरुसँग नियमित वैठक गर्न थालेका छन् ।

सरकारले लकडाउन घोषणा गरेको र महत्वपूर्ण निर्णय गर्न पनि आवश्यक भएको वेलामा यस्तो मिटिङ्ग वस्ने गरेको छ । अहिले विभिन्न संघसंस्थाले समेत डिजिटल वैठक गर्न थालेका छन् ।

सामाजिक काममा अग्रसरता जनाउँदै आएको तुलसीपुर नगर जेसिजले डिजिटल वैठकबाटै कोरोना संक्रमणका लागि संस्थाका तर्फबाट के गर्ने भन्ने वारेमा महत्वपूर्ण निर्णय गर्यो । “हामीले के के सहयोग गर्ने भन्ने बारेमा डिजिटलहरुमै वैठक वसेर निर्णय गरेका हौं” अध्यक्ष मोहन सुनारले जानकारी दिए । जेसिजले पिपिइ, मास्कका साथै अन्य खाद्यान्नको सहयोग गरेको थियो ।

सबै सामुहिक रुपमा भेट्न पनि सम्भव नहुने अवस्थामा संक्रमणको घडीमा कसरी संस्थाको गतिविधि अगाडी वढाउने भन्ने वारेमा डिजिटल मिटिङ्ग निकै फलदायी सावित हुने संवाद समुहका सुशिल वस्नेतले भने । उनले प्रविधिले टाढा रहेर पनि एकै पटक वैठक वस्न सकिने भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए । संवाद समुहले पनि डिजिटल वैठक गरेर केही निर्णय गरेको थियो ।

नेपालभर छरिएर रहेका विभिन्न पदाधिकारी र सदस्यसँग घरमै वसेर वैठक गर्न सकिएको भन्दै पारिवारिक निजी वनका अध्यक्ष जोगराज गिरीले डिजिटल वैठककै कारण संस्थागत कामहरु अगाडि वढिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस