प्रदेश ५ मा काेराेना विवरण एप्सबाट

चैत २५, २०७६

 

 

खबरशाला संवाददाता 

तुलसीपुर । प्रदेश ५ सकारले कोरोना भाईरस (कोभिड १९) सँग सम्बन्धित विवरण संकलन प्रणाली विकास गरेको जनाएको छ । यसबाट स्थानीय सरकारले कोभिड १९ सँग सम्बन्धित बिषयको सूचना संकलन गर्न सक्नेछन् । प्रणालीको विकासले प्रकोपबाट उत्पन्न परिस्थितिको उचित व्यवस्थापनका लागि प्रदेश सरकार तथा स्थानीय तहहरू बीचमा समन्वय हुने प्रदेश सरकारको भनाई छ ।

देश लकडाउनको अवस्थामा रहेकोले सूचना तथा संचार प्रविधिको प्रयोग गरी स्थानीय तहहरूबाट विभिन्न सूचनाहरू संकलन गरी प्रदेशस्तरबाट उक्त सूचनाको विश्लेषण गरी आवश्यक कदम चाल्न मद्दत गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयले प्रदेश ५ का सम्पुर्ण स्थानीय तहहरूलाई यस सूचना प्रणाली मार्फत आफ्नो स्थानीय तहको विवरण पठाउन अनुरोध गरेको छ ।

मुख्यमन्त्री कार्यालयले यस सूचना प्रणालीलाई प्रदेश भित्रका सवै स्थानीय तहहरूले https://p5report.com/login/?next=/ मा लगइन गरी प्रयोग गर्नसक्ने जनाएको छ । जसका लागि प्रदेश सरकारले सबै स्थानीय तहहरूलाई युजरनेम र पासवर्ड उपलव्ध गराइएको छ । यस सूचना प्रणाली स्थानीय तहमा भएको विवरण प्रदेश स्तरमा प्राप्त हुने भएकोले प्रदेशस्तरीय निकायहरूलाई यस विपद्को उचित व्यवस्थापनका लागि आवश्यक निर्णय गर्न मद्दत मिल्ने प्रदेश सरकारको भनाई छ ।

यस सूचना प्रणालीको माध्यमबाट स्थानीय तहमा व्यवस्था गरिएको र प्रयोग गरिएको क्वारेन्टाइन बेड संख्या, आइसोलेसन बेड संख्या पठाउन सकिने, भर्खरै विदेशबाट नेपाल आएका व्यक्तिहरूको संख्या, क्वारेनटाईनमा बसे र नबसेको विवरण बसेको अवधि घर फर्कन नपाई अलपत्र परेका स्वदेशी वा बिदेशीहरूको संख्याका साथै लकडाउनका कारण हाल बेरोजगार भएका दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरूको संख्या समेत पठाउन सकिने प्रदेश सरकाले जनाएको छ ।

स्थानीय तहहरूमा विभिन्न दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन सक्ने तथा कुनै वस्तु वा उत्पादन प्रयोगमा नआई खेर जाने स्थिति समेत हुन सक्ने भएको हुँदा यस प्रणाली मार्फत अभाव भएका वस्तुहरू र उत्पादन भएका तर विक्री नभएका वस्तुहरूको विवरण समेत पठाउन सकिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । उनका अनुसार सूचना प्रणाली मार्फत आवश्यकता अनुसार अन्य सूचनाहरू समेत पठाउने व्यवस्था गर्न सकिन्छ ।

त्यसेगरी सूचना प्रणाली मार्फत संकलन हुने विवरणले कोभिड १९ का कारण हाल उत्पन्न भएको विषम परिस्थितिलाई उचित व्यवस्थापन गर्न मद्दत मिल्ने केसीले बताए । यसअघि प्रदेश ५ सरकारले कोरोना भाईरसवारे जानकारी दिन र प्रदेश भरका सूचना संकलन एवं सम्प्रेषण गर्न मोबाईल एप निर्माण गरेको थियो । एपको माध्यमबाट कोभिड १९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरुका विवरणको विवरण पठाई उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिने जनाएको छ ।

त्यस्तै भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाईनमा बसेर नबसेको विवरण पनि जनताले एपको माध्यमबाट सरकारलाई पठाउन सक्नेछन् । त्यस्तै सरकारले बनाएको एपले धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने गरेको भन्दै उक्त रिपोर्ट एप मार्फत सरकारलाई पठाउन पनि सकिने बताइएको छ । उक्त एप गुगल प्ले स्टोरमा गई कोभिड १९ ट्रयाकिङ तथा सूचना प्रणाली सर्च गरी डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस