विपन्न समुदायलाई तत्काल राहत देउ : मुख्यमन्त्री पोखरेल

चैत २४, २०७६

तुलसीपुर ।

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई तत्काल राहत दिन स्थानीय तहलाई निर्देशन दिएका छन्। उनले स्थानीय तहहरूले राहत कोष बनाउनुपर्ने भन्दै आफ्ना क्षेत्रमा दैनिक ज्यालादारी काम गरेर जीविका चलाउने मजदुरलाई तत्काल राहत उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासबारे सोमबार प्रदेशका ६ वटा स्थानीय तहका प्रमुखहरूसँग एकीकृत भिडियो संवाद गर्दै कोरोना नियन्त्रणमा गम्भीरतापूर्वक जुट्न आग्रह गरे। गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखसँग गरिएको संवादमा अर्को प्रदेशबाट आउने नाकामा कडाइ गर्न समेत ध्यानाकर्षण गराए। अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिँदा जोखिमबाट बच्न सकिने मुख्यमन्त्रीको भनाइ थियो।

कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै मुख्यमन्त्रीले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल खोज्न आग्रह गरे।

संवादमा ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाटका धिरज शर्मा बस्याल, राजापुरका शिवप्रसाद चौधरी, मुसिकोटका सोमनाथ सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्याल सहभागी थिए।

स्थानीय तहका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई जानकारी गराए।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको र त्यहाँ आइसियुसहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले जानकारी दिए।

भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोनाविरुद्धको अभियानमा लाग्न मुख्यमन्त्रीले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस