कोरोना भाइरस, रोकथाम तथा नियन्त्रण

चैत २३, २०७६


विजय जिएम

लकडाउन कडा रुपमा कार्यान्वयन गर्न राज्यका सबै अंगहरु परिचालन गर्नुपर्दछ । संकटकाल घोषणा गरेर भए पनि सैनिक परिचालन गर्नुपर्दछ । हाम्रो अहिलेको सामान्य लापरवाहीले भोलिका दिनहरु अकल्पनीय र दर्दनाक अवस्था नहोस् । हाम्रो देशको अवस्थालाई हेर्ने हो भने कोरोना संक्रमणबाट बच्ने उपाय नै लकडाउन र समाजिक दुरी कायम राख्नु हो ।

कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसले ज्वरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको संक्रमण गराई निमोनिया निम्त्याउछँ । यो भाइरसको इन्क्युवेशन पिरियड १ देखि १४ दिन बीचको अनुमान गरिएको छ । नयाँ कोरोना भाइरसबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले COVID-19 को नाम दिएको छ । COVID को पुरा रुप Corona Virus disease हो । यो कोरोना भाइरस डिसेम्बर, २०१९ मा चीनको वुहान प्रान्तमा देखिएको हो । यो भाइरसको श्रोत अझै खुल्न सकेको छैन् । कोरोना भाइरस विरुद्ध कुनै औषधि र भ्याक्सिन बनेको छैन् । तर यो रोगको लक्षण अनुसार औषधि दिने गरिएको छ

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको दरलाई चार चरणमा छुटयाइको छ । पहिलो चरण आयातीत संक्रमण हो । यो चरणमा संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसवाट मुलुकमा भित्रिन्छ । दोस्रो चरण भनेको स्थानीय रुपमा संक्रमण फैलिनु हो । अर्थात वाहिरवाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु । तेस्रो चरणमा संक्रमण सामुदायिक रुपमा फैलिन्छ ।

 

यो चरणमा संक्रमित वा विदेशवाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ । चौथो तथा अन्तिम चरण महामारी हो । संक्रमणको सवैभन्दा खराब अवस्था हो । यो अवस्थामा भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । यो चरणमा अधिक मात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिदै जानु हो । नेपाल पहिलो चरणमा थियो । विदेशवाट आएका व्यक्तिहरुमा मात्र भाइरसको संक्रमण देखिएको थियो । तर संक्रमण स्थानीय मानिसमा सर्न थालेको छ । नेपालमा अहिलेसम्म नौ जनामा संक्रमण भएको पुष्टि भएको छ । नेपाल अव संक्रमणको दोस्रो चरणमा पुगेको छ । तसर्थ सरकार र जनता सचेत बन्नुपर्ने देखिन्छ । अझै केही बिग्रेको छैन् ।

 

यो महामारीलाई अझै हाम्रो नियन्त्रणमा राख्न सक्छौ । यो महामरीलाई रोकथाम तथा नियन्त्रण गर्न सरकार र जनता बीच सतर्कता, सचेतना, सहकार्य र सहयोगको आवश्यकता छ । कोरोना भाइरस संक्रमणको दर तेस्रो र चौथो चरणमा प्रवेश गर्नुभनेको रोकथाम र नियन्त्रण अनियन्त्रित हुनु हो । हामीसँग श्रोतसाधन, जनशक्ति र दक्षताको अभाव छ । मेडिकल क्षेत्रमा चमत्कार नै गरेका विश्व शक्ति राष्ट्रहरुले नियन्त्रण गर्न नसकेको महामारीलाई हामीले नियन्त्रण गर्छु भन्नु दिवा सपना मात्र हो । यो महामारीलाई नियन्त्रण गर्ने दुई तरीका मात्र छ– मेडिकल र ननमेडिकल उपचार विधि । मेडिकल उपचार विधि भनेको टेस्ट एण्ड कन्ट्याक्ट ट्रेसिङ विधि हो ।

 

यो विधिमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेरे उनीहरुलाई छिटोभन्दा छिटो आइसोलेट र परीक्षण गर्नु हो । तसर्थ सरकारले विदेशबाट नेपाल प्रवेश गरेका व्यक्ति र उनीहरुको सम्पर्कमा भएका व्यक्तिहरुलाइ तुरुन्त पहिचान गरेर उनीहरुलाई आइसोलेसन र परीक्षण गर्नु अति आवश्यक छ । कोरोना संक्रमनबाट बच्ने यो नै उत्तम उपाय हो । विश्व स्वास्थ्य संगठनका अन्सार कोरोना रोकथामको सबैभन्दा प्रभावकारी विधि टेस्ट एण्ड कन्ट्याक्ट ट्रेसिङ नै हो । दक्षिण कोरिया र ताईवानले द्रुत परीक्षण र उत्कृष्ट उपचार पद्धतिलाई कोरोना नियन्त्रण र उपचार विधिका रुपमा प्रयोग गरेको थियो ।

क्वारेन्टाईन र आइसोलेसनमा बसेका व्यक्तिहरुलाई मनोचिकित्सकहरुद्धारा परामर्श गर्नु आवश्यक छ ।

यो विधिको लागि प्रशस्त श्रोत साधनको आवश्यक पर्दछ । तसर्थ सरकारले तुरुन्त छुट्टै सुविधा सम्पन्न कोरोना उपचार गर्ने अस्पतालको व्यवस्था गर्नुपर्दछ । सरकारले फास्ट ट्रयाकको माध्यमबाट मेडिकल सामग्रीको व्यवस्था गर्नुपर्दछ । कोरोना भाइरस परीक्षण गर्ने किट्सहरु प्रत्येक प्रदेशमा मात्र होईन प्रत्येक जिल्लामा हुनुपर्दछ । जीटुजी मार्फत मेडिकल सामग्री खरीद गर्नुपर्दछ । अहिले कोरोना भाइरस परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था छ । संक्रमणको आशंका गरिएको व्यक्तिको मृत्यु भइसकेको हुन्छ तर पनि रिपोट आउँदैन ।

 

ननमेडिकल उपचार विधि भनेको लकडाउन र सामाजिक दुरी कायम गर्नु हो । लकडाउन भनेको देश संकटको अवस्थामा भएकोबेला अत्यावश्यक काम बाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएको सरकारी निर्देशन हो । रोगको संक्रमण फैलिनबाट रोक्न सतर्कताको लागि सरकारल लकडाउन गर्दछ । यो अवधिमा औषधि उपचार, खाद्यान्न, खानेपानी, सुरक्षा, दुध, विद्युत, सुचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन, इन्धन, क्वारेन्टाईन बाहेक सबै बन्द हुन्छन् ।

दक्षिणी खुला सिमानाका कारण इन्डियाबाट अवैध रुपमा नेपाल प्रवेशको सम्भावना धेरै छ । दक्षिणी नाका लगाएत अन्य खुला सिमाना बन्द अझै कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

सामाजिक दुरी भनेको एक व्यक्ति र अर्को व्यक्ति बीचको भौगलिक दुरी नै सामाजिक दुरी हो । मानिसहरुको भिडभाड र जमघटबाट टाढा रहनु हो ।अत्यावश्यक वस्तुहरु खरिदको लागि निस्कनै पर्ने भए कम्तिमा तीन फुट वा एक मिटरको दुरी कायम गर्नुपर्दछ । लकडाउनले सामाजिक दुरी कायम गर्छ । सरकारले घोषणा गरेको लकडाउनलाई सम्पुर्ण नेपालीहरुले आत्मअनुशासित भएर पालन गर्नुको विकल्प छैन् । लकडाउन प्रभावकारी देखिएको छैन् ।

लकडाउन कडा रुपमा कार्यान्वयन गर्न राज्यका सबै अंगहरु परिचालन गर्नुपर्दछ । संकटकाल घोषणा गरेर भए पनि सैनिक परिचालन गर्नुपर्दछ । हाम्रो अहिलेको सामान्य लापरवाहीले भोलिका दिनहरु अकल्पनीय र दर्दनाक अवस्था नहोस् । हाम्रो देशको अवस्थालाई हेर्ने हो भने कोरोना संक्रमणबाट बच्ने उपाय नै लकडाउन र समाजिक दुरी कायम राख्नु हो ।

लकडाउन र सामाजिक दुरीलाई मात्र पनि कायम गर्न सक्यौ भने यो महामारीलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । लकडाउन भाइरसलाई निस्क्रिय गर्ने वैज्ञानिक तरीका हो । चीनले ननमेडिकल हस्तक्षेप अर्थात लकडाउन गरेर नै कोरोना नियन्त्रण गरेको थियो । लकडाउनको अवधि अझै थप्नुपर्छ ।

दक्षिणी खुला सिमानाका कारण इन्डियाबाट अवैध रुपमा नेपाल प्रवेशको सम्भावना धेरै छ । दक्षिणी नाका लगाएत अन्य खुला सिमाना बन्द अझै कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ । संक्रमनको परीक्षण कम्तिमा पनि तीन पटक गर्नुपर्दछ । यो भाइरसको इन्क्युवेशन पिरियड दुईदेखि चौध दिन हुने भएकोले संक्रमणको सम्भावित व्यक्तिहरुलाई कम्तिमा पनि चौध दिन क्वारेन्टाईन र आइसोलेसनमा राख्नुपर्दछ ।
संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्ति क्वारेन्टाईन र आइसोलेसनमा बस्न नमान्नु वा भाग्नु भनेको क्वारेन्टाईन र आइसोलेसनकोबारेमा नबुझेर हो ।

तसर्थ क्वारेन्टाईन र आइसोलेसनकोबारेमा जानकारी गर्नुपर्ने देखिन्छ । क्वारेन्टाईन र आइसोलेसनमा बसेका व्यक्तिहरुलाई मनोचिकित्सकहरुद्धारा परामर्श गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस