कोरोना प्रेरणा

कविता

चैत २३, २०७६

 

विपुल पोख्रेल

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, समसामयिक विषयका निरन्तर कलम चलाउँछन् । पत्रकारिताका अलावा गीत र कविता लेखनमा पनि उनको उत्तिकै अभिरुची छ । उनको केही गीत रेकर्ड समेत भएका छन् ।

 

संक्रमण ९ जनामा

आजको मुख्य समाचार

संख्या नै समाचार बन्दैछ फेरि

विपद्नै समाचार बन्दैछ फेरि

 

सबै घर भित्रै छन्

लकडाउन स्वीकार्य भएको छ

अभ्यस्त भएको छ मान्छे

उठबसमा समेत सजगता छ,

र, पनि खबर भयावह छ

त्रास छ, सन्नाटा छ,

अनुहार छिनभर मै

आतंकित रंगले पाेतिन्छ

अब फेरि युद्धका जस्तै समाचारका शीर्षक बन्दैछन्

संख्या नै समाचार हुन थालेका छन्

 

बिश्वयुद्धहरु सकिए

अर्को युद्ध हुन नदिन सम्पूर्ण तयारी गरियो,

युएन जन्माइयो महायुद्धहरूको चिहान खनियो।

सन्त्रासको अन्त्य भो भनियो।

 

हिंसात्मक युद्ध पनि सकिए

शान्तिवार्ता भए

अनमिन बोलाइए

संवादमा नै समाधन हुन्छ

यही निश्कर्ष निकालिए

 

अब फेरि युद्धका जस्तै समाचारका शीर्षक बन्दैछन्

संख्या नै समाचार हुन थालेका छन्

यत्रतत्र सर्वत्र मानवतामाथिको अप्रत्यासित आक्रमणले,

मन छुन थालेको छ

बदलिँदो हाम्रो व्यवहार

सचेतताको अद्भूत प्रदर्शन

आहारविहारमाथिको नियन्त्रण

हामीलाई नयाँ संसार बनाउन प्रेरित गर्दैछन्

संवाद कोसंग गर्ने यो बेला ?

निश्कर्ष कसरी खोज्ने यो बेला ?

मानवताको सुरक्षाका लागि

पहल कसरी थाल्ने यो बेला ?

 

यिनै प्रश्नहरुको चाङमा उभिएर

निरिह र स्तब्ध मलामी झै

भाइरसको चितामा सल्किएका

मेरो धर्तिका आफन्तहरू को वियोगमा,

ताता निश्वास छोड्न विवशछु।

अरुची लाग्ने समाचारमा संख्या गन्न विवश छु।

कोरोना केका लागि आएको होला ?

कहाँ होला यस्को समाप्ती ?

मानवजाती माथिको निर्मम आक्रमण किन चाह्यो होला ?

संवादले समाधान दिने निश्कर्ष आफैमा पूर्ण रहेनछ,

संसार जित्ने तागत छ मान्छेमा भन्नु आफैमा सत्य रहेनछ

 

कोरोनाको कहरले हाम्रा मान्यता भत्काउदैछ

हाम्रा बिश्वासमा प्रश्न उठाउदैछ

हाम्रा अभ्यासहरुलाई

सम्पूर्ण भन्न नसकिने बनाउँदैछ

 

कोरोना केका लागि आएको होला ?

कहाँ होला यस्को समाप्ती ?

मानवजाती माथिको निर्मम आक्रमण किन चाह्यो होला ?

अनुत्तरित प्रश्नमा घोत्लदै

संख्यामा लेखिएका समाचार पढ्न विवश म

चन्द्रमामा चाँदीको घेरा देख्दैछुँ

केही मूल्यवान आशा पनि वोक्दैछुँ

 

बदलिँदो हाम्रो व्यवहार

सचेतताको अद्भूत प्रदर्शन

आहारविहारमाथिको नियन्त्रण

हामीलाई नयाँ संसार बनाउन प्रेरित गर्दैछन्

 

यो प्रेरणा नै हाम्रो जिजिविषाको आधार बन्छ कि ?

कोरोना माथीको बलियो प्रहार बन्छ कि ?

 

प्रतिक्रिया दिनुहोस