प्रदेश ५ मा कोरोना परिक्षण आइतबारबाट

चैत २२, २०७६

प्रदेश ५ को मन्त्री परिषद्को बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्रमा सञ्चालित कोरोना विशेष अस्पतालमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण सुरु गर्ने निर्णय गरेको थियो’

दाङ । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को परिक्षण आइतबारबाट सुरु हुने भएको छ । रुपन्देहीको भैरहवास्थित गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा सञ्चालित कोरोना विशेष अस्पतालबाट कोरोना परिक्षण सुरु गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए ।

गत चैत १७ गते सम्पन्न प्रदेश ५ को मन्त्री परिषद्को बैठकको निर्णय अनुरुप आइतबारबाट टेष्ट  सुरु हुने डा. गिरीले जानकारी दिए । ‘गत चैत १७ गते बसेको प्रदेश ५ को मन्त्री परिषद्को निर्णय अनुसार भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्रमा सञ्चालित कोरोना विशेष अस्पतालबाट कोभिड–१९ को परिक्षण भोलि आइतबारबाट सुरु गर्दैछौं’, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा. गिरीले भने, ‘आइतबारबाट टेष्ट रन सुरु गर्दैछौं । तयारी पुरा भइसकेको छ ।’

प्रदेश ५ को मन्त्री परिषद्को बैठकले प्रदेशका ३ स्थानमा कोरोना भाइरस परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेसँगै तयारी थालिएकोमा मेसिन खरिद प्रक्रियाका कारण केही ढिलाई भएको निमित्त कार्यालय प्रमुख गिरीले जानकारी दिए । ‘प्रदेश ५ को मन्त्री परिषद्को बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्रमा सञ्चालित कोरोना विशेष अस्पतालमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण सुरु गर्ने निर्णय गरेको थियो’, डा. गिरीले भने , ‘सामग्री खरिदमा प्रक्रिया मिलाउनुपर्ने भएकाले केही ढिलाई भएको हो । अब प्रदेश ५ मै कोरोना भाइरसको परिक्षण गर्न सकिन्छ ।’

कोराना परिक्षण प्रयोगशाला सञ्चालनका लागि एक हप्ता लाग्ने भेरी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापाले ल्यावका सामग्री खरिद प्रक्रिया सुरु भइसकेकाले एक हप्ताभित्रै ल्याव सञ्चालनमा आउने जानकारी दिए । ‘कोरोना भाइरस (कोभिड–१९) को परिक्षण ल्याव सञ्चालनमा आउन अझै १ हप्ता लाग्छ’, मेडिकल सुपरिटेण्डेण्ट डा थापाले भने  ‘सफ्टवेयरको काम सकिएको छ । सामग्री खरिदका लागि टेण्डर खोलिएको छ । यही रफ्तारमा काम अगाडि बढ्यो भने एक हप्ताभित्रै परिक्षण सुरु गर्न सक्छौं ।’

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस परिक्षण प्रयोगशाला सञ्चालनको प्रक्रिया सुरु भएको जनाएको छ । प्रतिष्ठानका कोरोना भाइरसका फोकल पर्सन डा. सदिक्षा योगीले प्रयोगशाला स्थापनाको प्रक्रिया सुरु भएकाले कहिलेबाट सञ्चालन हुन्छ एकिन भन्न नसकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस